सरकार र चिकित्सकको वार्ता सहमति नजिक, ठप्प स्वास्थ्य सेवा खुल्ने सम्भावना


काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारी टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार सरकारी वार्ता टोली र संघका पदाधिकारीहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । सहमतिको ड्राफ्ट तयार भइरहेकाले सम्झौतामा हस्ताक्षर भएलगत्तै स्वास्थ्य सेवा ठप्पका कार्यक्रम फिर्ता हुने उनले बताए ।

भीआईपी सुरक्षा मापदण्ड परिर्वतन गर्ने, राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक कुट्ने दोषीलाई कारबाही गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानूललाई कार्यान्वयनमा लाने जस्ता विषयमा सहमति हुन लागेको हो । यसका लागि दुबै पक्ष सकारात्मक रहेको र सहमति नजिक पुगेको डा. कार्कीको भनाइ छ ।

सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेश पाण्डे, स्वास्थ्य सचिव डा. रोशन पोखरेललगायत छन् । नेपाल चिकित्सक संघका तर्फबाट डा. लोचन कार्की, डा. बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा. प्रकाश बुढाथोकी लगायत रहेका छन् ।

नेपाल चिकित्सक संघको अगुवाइमा आज देशभरका आकास्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएका छ । स्वास्थ्य संस्थामा हडताल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा चिकित्सकहरुलाई वार्तामा बोलाइएको हो । दुबै पक्षबीच सहमति हुन लागेपछि चिकित्सहरुले गरेको हडताल फिर्ता हुने भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ