भारतद्वारा नेपाललाई २ सय थान मिर्गौला डायलासिस मेसिन हस्तान्तरण


काठमाडौं । भारतले नेपाललाई २ सय थान मिर्गौला डायलासिस मेसिन प्रदान गरेको छ ।

नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरे ।

मन्त्री गिरीले धेरै मानिसले समयमै डायलिसिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलासिसले धेरै हदसम्म समस्या हटाउने बताए ।

‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पुर्याउन सकेमा डायलासिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, उनले भने, ‘भूकम्प र कोभिड पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ । नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’

मन्त्री गिरीले नेपाल र भारतबीच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिक रुपले घनिष्ठ सम्बन्ध रहेको बताए ।

‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । यहीकारण हामी लामो समयदेखि सहकार्य गरिरहेका छौं । भारतबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि जुन सहयोग आएको छ, त्यो सहयोग हाम्रा लागि अमूल्य छ’, गिरीले भने ।

यस्तो छ भारतीय राजदूतावास
काठमाडौंको
प्रेस विज्ञप्ति
भारतद्वारा नेपाललाई मिर्गौला डायलाइसिस मेसिन उपहार स्वरुप प्रदान

नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री पदम गिरीलाई आज बिहान २० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गर्नुभयो । भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई उपहार स्वरुप प्रदान गरिने २०० वटा यस्ता मेसिनमध्ये आज २० वटाको हस्तान्तरण भएको हो । यी मेसिन सहित सबै सम्बन्धित उपकरण पनि उपलब्ध गराइएको छ । बाँकी मेसिनहरु चाँडै उपलब्ध गराइनेछ ।
२. समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीच विशेष गरी स्वास्थ्य क्षेत्रमा लामो समयदेखि रहदै आएको विकास सहकार्यबारे चर्चा गर्दै यी मेसिनहरुको हस्तान्तरणले स्वास्थ्य पूर्वाधारको विकासमा नेपाल सरकारले गरेको प्रयासमा भारतले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको बताउनु भयो ।
३. त्यसै गरी मन्त्री गिरीले स्वास्थ्य सुविधालाई नेपाली जनतामाझ विस्तार गर्न यो मिर्गौला डायलाइसिस मेसिन लगायत भारत सरकारले स्वास्थ्यको क्षेत्रमा गर्दै आएको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
४. स्वास्थ्य क्षेत्रमा सहकार्य भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण पक्ष हो । नेपालका विभिन्न जिल्लामा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित झन्डै ५० वटा उच्च प्रभाव सामुदायिक परियोजनाका अतिरिक्त काठमाडौंस्थित नेपाल भारत मैत्री आपतकालीन तथा ट्रमा सेन्टर, धरानस्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित वीर अस्पतालको ओपीडि कम्प्लेक्स जस्ता प्रमुख स्वास्थ संस्थाहरु भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएका हुन् । त्यस्तै भारतले नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लाहरुमा १३२ स्वास्थ्य चौकीहरुको निर्माणका लागि भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत ५० मिलियन अमेरिकी डलर प्रदान गरेको छ । भारत सरकारले कोभिड महामारीको बेला द्विपक्षीय अनुदान (२० लाख भन्दा बढी डोज) र कोभ्याक्समार्फत खोप उपलब्ध गराउनुका अलावा स्वास्थ्य संस्थाहरुको भौतिक क्षमता अभिवृद्धि गर्न नेपाललाई सहयोग गरेको थियो । साथै भारत सरकारले नेपाललाई आइसीयु बेड, मेडिकल अक्सिजन प्लान्ट, अत्यावश्यक औषधी, आरटी–पीसीआर टेस्ट किट्स, पीपीई, भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरणहरु पनि उपलब्ध गराएको थियोे । भारत सरकारले प्रत्येक वर्ष नेपालका विभिन्न स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराउदै आएको छ । भारतले हालसम्म नेपालका लगभग सबै जिल्लामा गरी ९४० वटा एम्बुलेन्स वितरण गरिसकेको छ ।
५. निकट छिमेकीको हिसाबले भारत र नेपालबीच बहुआयामिक एवम् बहक्षेत्रीय सहकार्य रहेको छ । यस मिर्गौला डायलाइसिस मेसिनको हस्तान्तरणले स्वस्थ नेपालको निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा भारतले पुर्याउदै आएको सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

काठमाडौं, नेपाल
२०७९ फाल्गुण ८ गते

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ