स्वास्थ्यमा जस्तै निजामती सेवालाई पनि तहगत प्रणालीमा लगिँदै


काठमाडौं । स्वास्थ्य र स्थानीय सेवामा जस्तै निजामती सेवालाई पनि तहगत प्रणालीमा लगिने भएको छ । सबै सेवालाई एउटै प्रणालीमा ढाल्न निजामतीलाई पनि तहगत प्रणालीमा लाने तयारी गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवामा रहेको श्रेणीगत प्रणाली हटाएर स्वास्थ्य सेवामा जस्तै तहगत प्रणालीमा लाने तयारी भइरहेको छ । यसका लागि सामान्य प्रशासन मन्त्रालय गृहकार्य थालेको मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

स्वास्थ्य सेवालाई पनि संघीय निजामती ऐनभित्र समेटेर तहगत प्रणालीमा लाने प्रस्ताव तयार भइरहेको ती अधिकारीले जानकारी दिए । अहिले प्रदेश र स्थानीय तहमा तहगत प्रणाली नै रहेको छ ।  संघीय सेवामा स्वास्थ्य सेवामा मात्र तहगत प्रणाली लागू छ । अब भने स्वास्थ्य सेवामा जस्तै तहगत प्रणाली संघीय निजामती सेवामा लागू गर्ने प्रस्ताव तयार भइरहेको हो ।

सबैलाई समान हिसाबले व्यवहार गर्न तहगत प्रणालीमा जान उपयुक्त हुने भएकोले  मन्त्रालयले उक्त विषयमा जान जोड दिएको हो । अहिले निजामतीमा विशिष्ट श्रेणी, प्रथम श्रेणी, द्वितीय श्रेणी र तृतीय श्रेणीको श्रेणीगत प्रणाली लागू छ । स्वास्थ्यमा बाह्रौं तह, एघारौं तह, दशौं तह, नवौं तह, आठौं तह, सातौं, छैटौं तहको तहगत प्रणाली चालू छ ।

स्वास्थ्यको बाह्रौं तह (अतिरिक्त सचिव) निजामतीमा विशिष्ट श्रेणी सचिव सरहको हुन्छ । स्वास्थ्यको एघारौं तहको कर्मचारी संघीय निजामती प्रथम श्रेणी र दशौं तह, नवौं तह निजामतीको द्वितीय श्रेणी सरहको हुन्छ । त्यस्तै स्वास्थ्यको आठौं तह, सातौं र छैटौं तहको कर्मचारी निजामतीको तृतीय श्रेणी सरह हुन्छ । अब भने तहगत प्रणालीमा जाने तयारी थालिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ