आज राष्ट्रिय स्वास्थ्य सेवा दिवस, गुणस्तरीय सेवा र जनशक्ति उत्पादनका लागि सरकार प्रतिबद्ध


काठमाडौं । आज २५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस विशेष कार्यक्रम गरी मनाइँदैछ ।

२०५३ सालमा नेपाल स्वास्थ्य सेवा ऐन जारी भएको सम्झनामा सरकार यो दिवस मनाउँदै आएको छ ।

“दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा: निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” नाराका साथ आज देशभर यो दिवस मनाइँदैछ ।

सरकारले दिवसलाई भव्य रुपमा मनाउनका लागि मुख्यसचिव शंकरदास बैरागी खनालको नेतृत्वमा स्वास्थ्य सेवा दिवस मनाउन मूल समारोह समिति पनि गठन गरेको थियो ।

दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवामा समर्पित सम्पूर्ण जनशक्तिलाई धन्यवाद दिए ।

उनले नागरिकको मौलिक अधिकार अनुसार पाउनुपर्ने स्वास्थ्य सेवाका लागि दिनरात खटिरहने र गुणस्तरीय सेवामा कुनै कमी हुन नदिनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

दिवसको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै मन्त्री गिरीले भने, ‘विद्यमान स्वास्थ्य निती, नियम र कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्दै अघि बढ्ने काममा सबै दत्तचित्त भएर लागिरहेको छ ।’

नागरिकलाई गुणस्तरीय सेवा दिनका लागि स्वास्थ्य सेवालाई हरेक क्षेत्रमा पुर्याउन र विद्यमान चुनौतीलाई समाधान गर्दै अघि बढ्ने उनले बताए।

मन्त्री गिरीले आगामी दिनमा नागरिकको घरदैलोमा सहज पहुँचसहितको गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन र निरोगी नेपाल निर्माणका लागि आवश्यक गुणस्तरीय जनशक्ति उत्पादनमा मन्त्रालय प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

दिवसको अवसरमा आज विज्ञसहितको बहस कार्यक्रमको पनि आयोजना गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ