४२ दिनमा बाहिरिएका निवर्तमान स्वास्थ्य मन्त्री गिरीले भने: कामै गर्न नपाएर बाहिरीनु मेरा लागि दु:खद हो


काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कामै गर्न नपाएर मन्त्रालयबाट बाहिरीनुपरेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले मङ्गलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले मन्त्रालयका कामकारबाही बुझेर कार्यान्वयन गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताए ।

उनले भने, ‘४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु पर्यो ।’

मन्त्रीका रुपमा आफूले मुलुकको स्वास्थ्य क्षेत्रलाई बुझ्न र त्यस क्षेत्रको अध्ययनमा बिताएको भन्दे उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए ।

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि बीमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्‍याउनुपर्ने उनको सुझाव छ।

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे ।

उनले स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टिकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ