फ्लोरेन्स नाइटेङ्गलको कथा पढेर नर्सिङ्ग पेसामा लागेकी नासरिन


यतिबेला बालबालिकाको स्वास्थ्यसहितका हरेक पक्षलाई ध्यानमा राखी बाल स्वास्थ्य नर्सिङ्ग सप्ताह मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन १६ देखि २२ गतेसम्म मनाइने सप्ताह अन्तर्गत बच्चा जन्मेदेखि नै उनीहरूको स्वास्थ्य, अधिकार, पालनपोषण लगायतका विषयमा नर्सहरूले निर्वाह गर्ने भूमिका र सेवाको वकालत गर्ने गरिन्छ ।बाल स्वास्थ्य नर्सिङ्ग, नर्सिङ्ग विधामध्येको एक हो । नर्सिङ्ग परिषदमा पनि यो विधा छुट्टै दर्ता भइसकेको छ । बाल स्वास्थ्य, नवजात शिशु स्याहारमा खटिने नर्स, दीर्घरोग भएका बालबालिका, शिशु जन्मेदेखि चाहिने खोपको आवश्यकता, बालबालिकाको हरेक पक्षका लागि नर्सहरूको आवश्यकतालाई वकालत गर्न यो सप्ताह मनाइने गरिन्छ ।

नर्सिङ्ग विधामध्येको निकै संवेदनशिल रहेको बाल स्वास्थ्य नर्सहरूको क्षेत्रमा काम गर्दै आएकी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत नासरिन तलकको अनुभव यस्तो छ :

विद्यालयमा फ्लोरेन्स नाइटेङ्गलको कथा पढे बेलादेखि नै मलाई नर्स बन्ने रहर जाग्यो । मलाई थाहा थिएन नर्स पढ्न के गर्नुपर्छ ? कसरी बन्ने ? तर, फ्लोरेन्स नाइटेङ्गल जस्तै नर्स बनेर बिरामीको सेवा गर्ने रहर थियो ।

विद्यालयको पढाइ सक्दै गर्दा नर्स बन्ने इच्छा पनि ठूलो हुँदै गयो । २०६५ मा एसएलसी पास गरे । मैले प्लस टुमा साइन्स लिएर एडमिसन गराए । १ वर्ष जति पढेपनि तर, मन लागेन । घरमा पनि सबैजना शिक्षित भएका कारणले मैले मेरो इच्छाको बारेमा घरमा बुबालाई भने । उहाँले त्यसपछि मेरो नाम जनकपुर नर्सिङ्ग क्याम्पसमा लेखाइदिनुभयो ।

हुन त मुस्लिम समुदाय भनेपछि अलिकति छोरी चेलीलाई पछाडी नै पार्ने वा हालसम्म पारिँदै आएको जस्तो देखिन्छ । तर, घरमा वातावरण राम्रो भएको र मेडिकल फिल्डमै घरका अन्य सदस्यहरू पनि भएका कारण मलाई भने सहज भयो । मेरो इच्छालाई पूरा गर्नका लागि मेरा बुबा आमाले मलाई साथ दिनुभयो । मैले नर्सिङ्गको पढाई पूरा गरे ।

नर्सिङ्गको पढाई पूरा गरिसकेपछि एक वर्ष निजी अस्पतालमा पनि काम गरे । तर, निजी अस्पतालमा चर्को शुल्क अनि बिरामीको पनि सोर्स अनुसार सेवामा खटिनुपर्ने बाध्यता हुँदा तलब राम्रो भए पनि काम गर्न मन लागेन । सरकारी अस्पतालमा काम गर्दा सबै बिरामीको सेवा आफ्नो खुशीले गर्न पाउने, उनीहरूलाई सक्दो सहयोग गर्न पाउने हुँदा माहोल नै अर्को देखिने भएकाले सरकारीमै काम गर्ने इच्छा थियो ।

मेरो यो इच्छा पनि पूरा भयो । प्रादेशिक अस्पतालले भ्याकेन्सि खुलायो । भाग्यवस मेरो मिहिनेतले नाम पनि निस्कया । आफ्नो सपना विस्तारै पूरा भइरहेको लाग्यो । अस्पतालमा सुरुको एक वर्ष त मेडिकल वार्डमा काम गर्ने मौका भेट्यो । जहाँ सबै किसिमका बिरामीहरू आउने गर्छन् । त्यसपछि प्रसुति वार्डमा पनि काम गरे । त्यसपछि मैले आईसीयूमा पनि काम गर्ने मौका पाए । अनुभव पनि राम्रै रह्यो । तर, कामको रोटेसन अनुसार मैले बच्चाको आईसीयूमा काम गर्ने मौका पाए ।

प्रादेशिक अस्पतालमा काम गर्न थालेको करिब ७ वर्ष भयो । साढे ३ तीन वर्ष भयो मैले एनआईसीयूमा काम गर्न थालेको छ । एनआईसीयूमा काम गर्दा आफ्नै बच्चा जस्तै माया लाग्ने । अभिभावक नहुँदा पनि हामीले उनीहरूको स्याहार सुसार गर्नुपर्ने हुन्छ । जुन आफ्नै बच्चा सरह लाग्छ । मेरै सन्तान हो जस्तो गरेर केयर गर्दाको अनुभव नै छुट्टै हुने ।

तर, कहिलेकाहीँ कुनैकुनै यस्तो केस आइदिन्छ कि मनै खिन्न हुन्छ । सिभियर वर्थ एक्फेसियाको केस हुन्छ । वा अरु कुनै क्रिटिकल केसमा लाख प्रयास र काम गर्दै गर्दा पनि बच्चालाई बचाउन नसकेको अवस्था निकै नै पीडादायी हुन्छ । त्यो दिन त खान पनि मन नलाग्ने, निद्रा पनि नलाग्ने । के मिस भयो ? के गर्न सकिन्थ्यो ? जस्ता प्रश्नले नै दिन र रात बित्छ । तर, एउटै केसमा लाग्नुभन्दा भएकालाई कसरी राम्रो बनाउने र गर्नेमा फेरि लाग्छु र कति बच्चा राम्रो भएर जान्छन् । अभिभावकहरूले पनि आशिर्वाद दिएर जान्छन् । त्यसले फेरि काममा उर्जा पनि थपिदिन्छ ।

त्यसमै कुनैकुनै बेला अभिभावक वा तीनका आफन्तले हामीमाथि गर्ने व्यवहार अराजक हुँदा भने निकै दुःख लाग्छ । हाम्रो हातमा भएको जति गरेर पनि निको नहुने वा काम गर्दैगर्दा पनि आएर अनावश्यक गाली गर्ने, कराउने बानीले पनि चित्त दुख्ने गर्छ । तर, सबै एक समान हुँदैनन् । कतिपय अभिभावकालाई डाक्टरहरूले परामर्श दिँदा बुझ्ने पछि छन् र उहाँहरूले को अपरेट पनि गर्नुहुन्छ ।

अहिले पनि महिना नै नपुगेर जन्मेका बच्चाहरू भर्ना छन् । निमोनिया भएको बच्चा छ, जन्डिस भएको बच्चा छ । सक्दो प्रयास र केयरले निको हुँदैछ । यसअघि पनि यस्ता केसहरू निको भएका छन् । बच्चाहरू स्वस्थ भएर घर फर्केका छन् । खुशी लाग्छ ।

सबै कुरा राम्रै छ । तर, जनशक्तिको उचित व्यवस्थापन हुन नसक्दा भने समस्या हुने गर्छ । बालरोग विभागमा ३ वटा वार्ड छ । जसमा १२ देखि १४ जना मात्रै काम गर्छन् । त्यस्तो बेलामा कसैलाई केही आइपर्यो भने जनशक्ति अभाव भइ काम गर्न गाह्रो हुन्छ । त्यसबाहेक सबै कुरा सहज नै छ । खुशी नै छु ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ