पहिलाे पटक महिला स्वास्थ्य सम्मेलन हुँदै, अस्ट्रेलिया, जर्मनी र नर्वेका राजदूतकाे सहभागीता रहने


काठमाडौं । नेपालमा पहिलोपटक ‘महिला स्वास्थ्य सम्मेलन’ हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा भोलि र पर्सि गरी दुईदिने ‘महिला स्वास्थ्य सम्मेलनको आयोजना हुन लागेको हो ।

सम्मेलन, महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित रहनेछ । सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू हुनेछन् ।

यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुती हुनेछ ।

कुल ८५ कार्यपत्रहरू पेश हुने यस दुई दिने सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवम् विज्ञ व्यक्तित्वहरूको सहभागिता हुनेछ ।

महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौती एवम् अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कहरूको लेखाजोखा गर्नु यस सम्मेलनको उद्देश्य रहेको बताइएको छ । साथै महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त तुल्याउन आवश्यक तत्वहरु अनुसन्धान, क्षमता अभिवृद्धि, नीति निर्माण र पैरवी, बीचको अन्योन्याश्रित सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस सम्मेलनको अर्को उद्धेश्य हो ।

महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्वान एवम् विज्ञ, र कार्यक्रमहरुका कार्यान्वयनकर्ताहरुबाट सिर्जित तथ्याकं, तथ्य, सिकाइ र दृष्टिकोणलाई साझा गर्ने, महिला स्वास्थ्यको क्षेत्रमा भएका नविन प्रयास र सफलताहरुलाई प्रर्दशित गर्ने । महिला स्वास्थ्यको विषयमा नीति निर्माणकर्ता र कार्यक्रमहरुका कार्यान्वयनकर्ताहरूबीचको साझेदारी र सहकार्यलाई सबल पार्ने, प्राथमिकताको सूचिमा राख्नुपर्ने महिला स्वास्थ्यका विषयहरूबारे पहिचान गर्ने र नीति निर्माणमा योगदान दिने सम्मेलनको मुख्य उद्देश्यहरू रहेका छन् ।

सम्मेलनमा अस्टे्रलिया, जर्मनी र नर्वेका राजदूतकाे पनि सहभागीता रहने छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले महिला स्वास्थ्य सम्मेलनले पाेषणमा ध्यान दिन जोड पुग्ने बताए ।

विगत र अहिलेका राेगकाे फरक रहेको तथा सहि समयमा सम्मेलन आयाेजना हुन लागेकाले यसले स्वास्थ्य क्षेत्रकाे निति निर्माणमा सहयोग पुग्ने उनले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ