एनएमएसँग भएको सहमति अनुसार भीभीआईपी प्रोटोकल परिमार्जन गर्न पठाइयो


काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)सँग भएको सहमति अनुसार भीभीआईपी प्रोटोकल परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।सांसद सुमन श्रेष्ठलाई लिखित जवाफ दिँदै गृह मन्त्रालयले उक्त जानकारी गराएको हो ।

नेपाल सरकारले गठन गरेको वार्ता टोली र नेपाल चिकित्सक संघका पदाधिकारीबीच माघ २९ मा भएको सहमति कार्यान्वयनका लागि तयार भएको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार “विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने समसामयिक परिमार्जनको सुझाव पेश गर्न मन्त्रालयमा गठित कार्यदलबाट कार्यविधिमा गर्नुपर्ने संशोधनका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा गर्नुपर्ने समग्र परिमार्जनका विषयहरूमा कार्यदलबाट मस्यौदा तर्जुमा भई नेपाल सरकार (मन्त्रीपरिषद्)मा पेश गर्ने तयारीमा रहेको गृह मन्त्रालयको भनाइ छ । गृहले उक्त कार्यविधि सुरक्षासँग सम्बन्धित विषय गोप्य रहने व्यहोरा समेतको जानकारी सांसद श्रेष्ठलाई गराएको छ । ‘सुरक्षासम्बन्धी विषय भएकोले गोप्य रहनु पर्नेमा सहमत । मन्त्रिपरिषद्बाट छिटै पारित हुन्छ भन्ने आशा गरेकी छु ।’, सांसद श्रेष्ठले भनिन ।

नेपाल चिकित्सक संघका तत्कालीन अध्यक्ष डा. लोचन कार्कीको अगुवाइमा भएको वार्तामा गृह मन्त्रालय भीभीआईपी प्रोटोकल परिमार्जन तयार भएको थियो । अब चाँडै मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको गृह मन्त्रालयले जनाएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ