स्वास्थ्यलाई अनुसरण गर्दै निजामती सेवा विधेयक संसदमा टेबल गर्ने तयारी


काठमाडौं । स्वास्थ्य सेवा ऐनलाई अनुसरण गर्दै संघीय निजामती सेवा विधेयक संसदमा टेबल गर्ने तयारी भइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयक संसदमा टेबल गर्ने तयारी गरेको हो ।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा स्वास्थ्यमा जस्तै धेरै कुरा समेटिएका छन् । स्वास्थ्यमा जस्तै उमेर हद र तहगत प्रणाली संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयकमा राख्न खोजिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनमा तहगत प्रणाली र ६० वर्षे उमेर हद लागू गर्न लागिएको बताए । केही दिनभित्रै उक्त विधेयक सदनमा टेबल गरिने मन्त्री मोदीको भनाइ छ ।

प्रस्तावित संघीय निजामती सेवा ऐन संसदमा टेबल गर्नु अगाडि मन्त्री मोदीले सरोकारवालाहरूसँग नियमित छलफल गरिरहेका छन् । ट्रेड युनियनका अधिकांश पदाधिकारीहरुले निजामती सेवामा पनि स्वास्थ्यमा जस्तै तहगत प्रणाली र ६० वर्षे सेवा हद लागू गर्नुपर्ने सुझाव दिएका थिए । त्यसलाई आत्मसात् गर्दै मन्त्रालयले तहगत प्रणाली र ६० वर्षे सेवा हद लागू गर्न लागेको हो ।

प्रस्तावित संघीय निजामती सेवा ऐन संसदमा टेबल गर्नु अगाडि मन्त्री मोदीले लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई पनि भेटेर परामर्श लिएका छन् । उनी जति चाँडो प्रस्तावित संघीय निजामती सेवा ऐन संसदमा टेबल गर्ने कसरतमा रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ