विस्तारित वीर अस्पतालको जग्गा भूमाफियाको कब्जामा जान थालेको आशङ्का


काठमाडौं । सरकारी बेवास्ताका कारण भक्तपुरको दुवाकोटमा बन्न लागेको विस्तारित वीर अस्पताल परियोजना अलपत्र परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले चासो नदिँदा दुवाकोटमा बन्न लागेको अस्पतालको काम अगाडि बढ्न नसकेको हो । अस्थिरताको फाइदा उठाउँदै अहिले विस्तारित वीर अस्पतालको जग्गा भूमाफियाको कब्जामा जान थालेको देखिन्छ ।

विस्तारित वीर अस्पतालको डिपिआर तयार गर्ने जिम्मा पाएको सहरी तथा भवन निर्माण विभागका अधिकारीहरूले दुवाकोटमा वीर अस्पतालका लागि भनेर छुट्याइएको जग्गा भूमाफियाले हड्प्न थालेको अनुमान लगाएका छन् । यस विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभागका कर्मचारी र मन्त्रालयका कर्मचारीबीच छलफल भएको छ ।

सहरी तथा भवन निर्माण विभागका अधिकारीहरूले तत्काल वीर अस्पतालका लागि सरकारले दिएको जग्गा नापेर पर्खाल लगाउने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना प्रमुख डा.कृष्ण प्रसाद पौडेलले आफ्नो जति जग्गा नापेर पर्खाल लगाउँने बताए । यो काम केही दिन भित्रै विभागले गर्ने भएको छ ।

वीर अस्पताल विस्तार गर्न २०७३ साउन ७ को मन्त्रिपरिषद् बैठकले दुवाकोटको ५ सय ७० रोपनी जग्गा दिने निर्णय गरेको थियो । २०७३ फागुनमा वीरले जग्गाको लालपुर्जासमेत पाइसकेको छ । त्यहाँ खुला क्षेत्र, खेल मैदान, स्टाफ क्वार्टरसहित अन्तर्राष्ट्रियस्तरको एक हजार शय्याको अस्पताल, नर्सिङ क्याम्पस, स्वास्थ्य अनुसन्धानालय, पुस्तकालय, प्रतिष्ठानको विज्ञान भवनलगायत संरचना बनाउने सरकारको योजना थियो । यसका लागि करिब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, यो बजेट समयमा काम हुन नसके प्रत्येक वर्ष बढ्दै जाने छ ।

अर्थ मन्त्रालयले यस वर्ष आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ५० करोड रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष डीपीआर र जग्गा व्यवस्थापन गर्न छुट्याइएको ४० करोड र २०७६/७७ मा १५ करोड रुपैयाँ फ्रिज भएको थियो । अहिले भने विभागले काम अगाडी बढाउँन जग्गाको व्यवस्थापन गर्ने भएको हो । विस्तारित वीर अस्पताल महावौद्धबाट ११ किलोमिटरको दुरीमा छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ