एनआरएनएद्वारा क्यान्सरबारे देशभर प्रचारप्रसार तीव्र, सबै जुटे सन् २०३० सम्ममा न्यूनिकरण गर्न सकिन्छ


काठमाडौं । विश्वमाझ बढ्दो महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर न्यूनिकरण गर्न सबै लागे सम्भव हुने एनआरएनए स्वास्थ्य समितिले जनाएको छ । समयमा उपचार, खोजिकार्य गर्न सकेको खण्डमा सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर न्यूनिकरण गर्न सकिने अधिकारीहरूले बताएका छन् ।

सन् २०३० सम्ममा महिलामा हुने पाठेघरको मुखको क्यान्सर न्यूनिकरण गर्न विश्व स्वास्थ्य समिति एनआरएनए देशभर प्रचार प्रसारमा लागेको छ । स्वदेश तथा विदेशमा जहाँ भएपनि सामाजिक सञ्जाल जुम मार्फत महिलाहरूमा बढ्दो क्यान्सरलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा वृहत्त छलफल जारी छ ।

यसको नेतृत्व एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जिब सापकोटाले गरेका छन् । संयोजक डा. सापकोटाका अनुसार एनआरएनएको ग्लोबल हेल्थ कमिटीले विश्वव्यापी  नेपाली क्यान्सर रोकथाम तथा व्यवस्थापन टोली समेत गठन गरेको छ । कमिटीमा सरोज डा. निरौला क्यानडा, डा. प्रकाश राज न्यौपाने नेपाल, डा. पुष्पराज भट्टराई साउथ कोरिया, डा. सुजिता हिराचन नेपाल, डा. एलिजा केसी जापान, डा. बोधराज सुवेदी पोल्याण्ड, डा. अरुण शाही नेपाल, डा. सुनिल साह युके छन् ।

त्यस्तै सल्लाहाकारमा रविना थापा अमेरिका, यास्मिन बेगम, डा. केशव पौडेल र डा. सञ्जीव सापकोटा अमेरिका रहेका छन् । नसर्ने रोगको बढ्दो जोखिम न्युनिकरणमा उनिहरू लागि परेका छन् ।

शनिवार भएको कार्यक्रममा डा. अरुण शाहीले स्तन क्यान्सरबारे प्रस्तुती दिएका छन् । उनले दिएको प्रस्तुती यस्तो छ …

क्यान्सर भनेको पछिल्लो समय निको हुने रोगको रुपमा लिन थालिएको छ । किनकी बढ्दो अध्ययन अनुसन्धान र प्रविधिका कारण यो रोग निको हुन सक्छ । तर, त्यसका लागि समयमै त्यसको जाँच र उपचार गराउनु आवश्यक छ । क्यान्सर रोगको समयमै पहिचान गर्न सके निको हुन सक्छ । महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर नेपालमा सबैभन्दा धेरै देखिने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन मातहतको ग्लोबो क्यानका अनुसार नेपालमा महिलाहरूमा सबैभन्दा धेरै देखिने पाठेघरको मुखको क्यान्सर, दोस्रोमा स्तन क्यान्सर, तेस्रोमा फोक्सोको क्यान्सर, चौथोमा पित्तथैलीको क्यान्सर र पाँचौ स्थानमा डिम्बासयको क्यान्सर रहेको छ ।

ग्लोबो क्यानको तथ्याङ्क अनुसार नेपालमा महिलामा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन ६ जनाको मृत्यु भइरहेको छ । सन् २०२० मा ३ हजार महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पत्ता लागेको थियो । जसमा २ हजार जनाको सन् २०२० मा मृत्यु भएको थियो ।

समयमै पहिचान र उपचार गर्न नसकेका कारण महिलाहरूको मृत्यु हुने गरेको छ । ह्युमन प्यापोलिमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर लाग्ने गर्छ । यसका ४० देखि ५० वटा प्रजाति भेटिएका छन् ।  १६ र १८ नम्बरका प्रजातिको भाइरसका कारण विश्वभर नै सबैभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर गराउने गरेको छ । साथै ६ र ११ नम्बरको प्रजातिले पाठेघरको मुखको क्यान्सर धेरै मात्रामा  गराएको छ ।

ह्युमन प्यापोलिमा भाइरसलाई न्यूनिकरण गर्नका लागि बालविवाहलाई अन्त्य गर्ने, कम उमेरमा यौन सम्पर्क गर्ने कुरालाई हटाउने, ह्युमन प्यापोलिमा भाइरसविरुद्धको खोप लगाउने, धुम्रपान नगर्ने, पाठेघरको मुखको क्यान्सरको समय समयमा परीक्षण गर्ने कुरामा ध्यान दिन आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनले पाठेघरको मुखको क्यान्सरलाई न्यूनिकरणका लागि ९०/७०/९० को मापदण्ड तयार पारेको छ । जसमा ९ देखि १५ वर्ष उमेर समूहका किशोरीहरूलाई ह्युमन प्यापोलिमा भाइरसविरुद्धको खोप लगाउने । त्यसमा बाँकी रहेका अर्थात् खोप लगाउन नपाएकाहरूको समय समयमा स्क्रिनिङ गर्ने र क्यान्सर पत्ता लगाएर उपचार गर्ने । यसरी गर्न सकेमा सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर न्यूनिकरण गर्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट जोगिन लगाइने भ्याक्सिन लगाउने उमेर समूह ९ देखि १५ वर्ष उमेर समूह रहेको छ । सरकारले पनि ९ देखि १५ वर्ष उमेर समूहलाई यो खोप लगाउने विषयमा काम अघि बढाइसकेको छ । जुन निःशुल्क उपलब्ध गराइने छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप तीन प्रकारका छन् :
१. सर्भरिक्स: यो खोप १६ र १८ नम्बरको प्रजातिविरुद्ध प्रयोग गरिन्छ ।
२. गार्डासिल: यो खोप ६, ११, १६ र १८ नम्बरको प्रजातिविरुद्ध प्रयोग गरिन्छ ।
३. गार्डासिल ९: यो खोप ह्युमन प्यापोलिमा भाइरसको ९ वटा प्रजातिविरुद्ध प्रयोग गरिन्छ ।

नेपालमा हालसम्म सर्भरिक्स र गार्डासिल प्रयोगमा छ ।

यदि कोहि खोप लगाउनबाट छुटेको छ भने त्यस्ता महिलाहरूको परीक्षण आवश्यक हुन्छ । परीक्षणका लागि पाठेघरको भिजुअल स्क्रिनिङ्ग गर्न मिल्छ भने पानी निकालेर पनि परीक्षण गर्न सकिन्छ । त्यसबाहेक पनि अन्य विधिबाट यसको परीक्षण गर्न मिल्छ ।

ह्युमन प्यापोलिमा भाइरसले आक्रमण गर्दैमा पाठेघरको मुखको क्यान्सर लागि हाल्ने भने हुँदैन । यो भाइरसले आक्रमण गरेको १० देखि १५ वर्षको समयपछि मात्रै पाठेघरको मुखको क्यान्सर लाग्छ । त्यसकारण यसको समयमै पहिचान गर्न सके यसबाट जोगिन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सरको उपचारविधि ४ प्रकारका छन् :
१. शल्यक्रिया
२. किमोथेरापी
३. रेडिएशन
४. औषधिको प्रयोग

क्यान्सरको टु एसम्मलाई शल्यक्रिया गरेर मात्रै पुग्छ । क्यान्सरको २ ए देखि फोर ए सम्मको चरणमा क्यान्सर निको हुन सक्छ । तर, त्योभन्दा माथिको चरणको क्यान्सर छ भने त्यो निको हुन सक्दैन ।

अन्तिममा, पाठेघरको मुखको क्यान्सरबाट जोगिनका लागि खोप लगाउने र खोप लगाउन छुटेको भए बेला बेलामा परीक्षण गराउनुपर्छ । धुम्रपान गर्ने बानी त्याग्ने, कम उमेरमा यौनसम्पर्क नगर्ने, यौन सम्पर्क गर्ने उमेरमा पनि कण्डमको प्रयोग गर्ने जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ