नेपालमा अस्पताल पुगेका १७ मध्ये १ जना महिलालाई स्तन क्यान्सर
काठमाडौं । विश्व स्वास्थ्य समिति एनआरएनएले महिलाहरूमा बढ्दो क्यान्सरको जोखिम र त्यसको न्यूनिकरणका लागि पहल सुरु गरेको छ ।
स्वदेश तथा विदेशमा जहाँ भएपनि सामाजिक सञ्जाल जुममार्फत महिलाहरूमा बढ्दो क्यान्सरलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा एनआरएनएको वृहत्त छलफल जारी छ । यसको नेतृत्व एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले गरेका छन् ।
शनिवार भएको एक कार्यक्रममा डा. सुजिता हिराचनले स्तन क्यान्सरबारे प्रस्तुती दिएकी छन् । उनले दिएको प्रस्तुती यस्तो छ …
स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्येको दोस्रो ठूलो क्यान्सर हो । महिला र पुरुष दुबैमा लाग्ने स्तन क्यान्सर तुलानात्मक रुपमा बढी महिलामा देखिन्छ । १ प्रतिशत भने पुरुषमा पनि स्तन क्यान्सर देखिने गरेको छ । हालसम्मको अवस्थामा महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा देखिन्छ । तर, जुन गतिमा महिलामा स्तन क्यान्सर बढ्दै गएको छ त्यसले निकट भविष्यमा यो नै पहिलो स्थानमा पुग्न बेर छैन ।
स्तन क्यान्सरबारेको अवस्था नेपालमा मात्रै नभई विश्वमै डर लाग्दो छ । नेपालमा प्रत्येक वर्ष २० हजार जना नयाँ स्तन क्यान्सरका बिरामी थपिने गरेका छन् । जसमा १३ हजारको हाराहारीमा मृत्यु हुने गरेको छ । नेपालमा देखिने विभिन्न प्रकारका क्यान्सरमध्ये १७ दशमलव १ प्रतिशत बिरामी स्तन क्यान्सरका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अमेरिकामा प्रत्येक ८ मध्ये एकजनामा स्तन क्यान्सर देखिने गरेको छ भने चीनमा प्रत्येक १६ जनामा १ जना, भारतमा प्रत्येक १७ जनामा एकजनामा स्तन क्यान्सर देखिने गरेको छ । नेपालमा यसको यकिन तथ्याङ्क नभएपनि अस्पतपाल पुग्ने बिरामीहरूलाई आधार मान्ने हो भने प्रत्येक १६ देखि १७ जनामा एकजनामा स्तन क्यान्सर देखिने गरेको छ ।
स्तन क्यान्सरका जेखिम :
महिलाको उमेर बढ्दै जानु
वंशाणुगत
महिनावारी चाँडै सुरु हुनु, महिनावारी ढिलो सुक्नु
स्तनपान नगराउँदा
मोटोपना
स्तनको घनत्व
प्रजनन्
खानपान
व्यक्तिगत इतिहास (धुम्रपान मद्यपान)
विकिरणको जोखिम
लक्षणहरू :
स्तनको मुन्टोबाट रगत बग्नु
स्तनको मुन्टो भित्र पस्नु
स्तनको मुन्टोबाट पानी वा पिपजीतो बगिरहनु
सुन्तलाको बोक्राजस्तै आकार देखिनु
स्तन छाम्दा गाठो देखिनु
स्तनमा खाल्डोजस्तो देखिनु
स्तनको आकारमा परिवर्तन देखिनु
किन ढिलो पुग्छन् महिलाहरू अस्पताल ?
स्तन क्यान्सरबारे अझैपनि सचेतनाको कमी, आर्थिक समस्या, स्वास्थ्यको सहज पहुँच र विशेषज्ञ चिकित्सकको अभाव, रोगको निदानको अभाव, सामाजिक र सांस्कृतिक अवरोधका कारण महिलाहरू ढिलो अस्पताल पुग्ने गरेका छन् ।
पत्ता लगाउने विधि :
अल्ट्रासाउण्ड
फाइन निडल एस्पिरेशन साइटोलोजी
मेमाेग्राफी
उपचार :
अपरेशन
केमो थेरापी
रेडियो थेरापी
हार्मोनल थेरापी
के गर्दा सर्दैन ?
सँगै बस्दा
एउटै थालमा खादा
एउटै लुगा लगाउँदा
सँगै सुत्दा
चुम्बन गर्दा
यौन सम्पर्क गर्दा
कृत्रिम स्तन
स्तन क्यान्सरका कारण हटाउनुपरेको स्तन पुनः राख्न मिल्छ । जसलाई ब्रेस्ट रिकन्स्ट्रक्सन पनि भनिन्छ । यसमा शरीरको कुनै एक भागको मासुलाई काटेर शल्यक्रियामार्फत् स्तन बनाउने गरिन्छ । सिलिकनको प्रयोगले पनि स्तन बनाउन सकिन्छ ।
बाँच्ने अवधि :
स्तन क्यान्सरको सुरुवाति चरणमै परीक्षण गरेर पत्ता लगाउन सकियो भने शतप्रतिशत बिरामी बाँच्ने गर्छ । पहिलो चरणमा पत्ता लागेमा ९५ प्रतिशत बाँच्ने गर्छ । दोस्रो चरणमा पत्ता लागेमा ८५ प्रतिशत बाँच्ने सम्भावना हुन्छ । तेस्रो चरणमा ७० प्रतिशत, चौथो तथा अन्तिम चरणमा पत्ता लागेमा २२ प्रतिशत बाँच्ने गर्छन् ।
हाम्रो दायित्व :
मथि उल्लेखित लक्षणहरूको शङ्का लागेमा वा जोखिम देखिएमा हरेक महिना आफ्नो स्तनको जाँच गराउने
स्तन क्यान्सरबारे जानकारी लिने
आफ्नो स्तनको आफै जाँच गर्ने
केहि शङ्का लागेमा तुरुन्त चिकित्सकसँग सल्लाह लिने
धरको चेलिबेटीलाई यस सम्बन्धी उत्प्रेरण दिने
पीडितको निमित्त समर्थन समूहको समायोजन गर्ने
तपाईको प्रतिक्रिया दिनुहोस