एनआरएनए क्यान्सर सचेतना

स्तन क्यान्सरबाट युरोपमा ८० र पोल्याण्डमा ७३ प्रतिशत मानिस बाँचेका छन्


काठमाडौं । एनआरएनए स्वास्थ्य समितिले समाजका विभिन्न क्षेत्रबाट क्यान्सर सचेतना अभियान चलाई रहेको छ । विश्वका विभिन्न कुनामा रहेका चिकित्सक र अभियन्ता सहभागी गराएर जुममार्फत महिलामा हुने क्यान्सर रोगबारे समाजमा चेतना फैलाउँने काम भइरहेको छ । यसको संयोजन एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जिब सापकोटाले गरेका छन् ।

अधिकारीहरूले स्तन क्यान्सरबाट युरोपमा ८० र पोल्याण्डमा ७३ प्रतिशत बिरामी उपचार पछि निको भएको बताएका छन् । वरिष्ठ क्यान्सर सर्जन डाक्टर वोधराज सुवेदीले युरोपमा समयमा उपचार गरेर स्तन क्यान्सरबाट कयौं महिलाहरुको ज्यान जोगाएको बताए । डा. सुवेदी हाल पोल्याण्डमा कार्यारत छन् ।

युरोपको अवस्थाबारे सुनाउँदै डा. सुवेदीले भने, ‘स्तन क्यान्सर समयमा पहिचान भए बचाउँन सकिन्छ । यसलाई औषधि उपचार गराउँन सकिन्छ । समयमा उपचार पाउँदा युरोपमा ८० प्रतिशत र पोल्याण्डमा ७३ प्रतिशत मानिस बाँचेका छन् ।’

चिकित्सकहरूका अनुसार स्तन क्यान्सर महिला मात्र हैन १ प्रतिशतभन्दा तल पुरुषमा पनि हुन्छ । २ सेन्टिमिटर सम्मको ट्युमरलाई उपचार गर्न सकिन्छ । धेरै बेनाइन ट्युमरहरु स्तनमा हुन्छ यसमा डराउँनु पर्दैन । चिकित्सकले निगरामीमा मात्रै यसलाई राख्ने गर्छन् । पहिलो र दास्रो स्टेपमा सर्जरी गरिन्छ । क्यान्सर तेस्रो स्टेप पुगेको अवस्थामा केमो, हर्मोन थेरापी चलाइन्छ डा. सुवेदी भन्छन् ।

स्तन क्यान्सरको सर्जरी पछिको अवस्था
क्यान्सर हृदयरोग पछि मृत्युको दोस्रो कारण हो । डा सुवेदीले बताए अनुसार मृत्युको कारण मध्ये मुटु र रक्तधमनी (काडियोभास्कुलर) बाट ४६ प्रतिशत, क्यान्सरबाट २४ प्रतिशत, इन्जुरी र नसाबाट ६ प्रतिशत अन्य समस्याबाट २४ प्रतिशत रहेको छ ।

स्तन क्यान्सर मानिसमा सबैभन्दा बढी पत्ता लाग्ने चार वटा क्यान्सर मध्ये पर्दछ । जस मध्ये फोक्सोको क्यान्सर, कोलोन क्यान्सर, स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर रहेका छन् ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाश राज न्यौपाने नेपालमा क्यान्सरको अवस्था दयनीय भएकोमा चिन्ता व्यक्त गर्छन् ।

‘विश्वमा हरेक वर्ष २ करोड नयाँ क्यान्सरका बिरामी देखा पर्छन । १ करोड मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ,’ उनले भने ।

डा. न्यौपानेका अनुसार ८ जना मध्ये १ जनामा क्यान्सर हुन्छ भने ११ जना महिला मध्ये १ जनामा क्यान्सर हुन्छ ।

डा. न्यौपानेका अनुसार करिब १३ प्रतिशत मानिसको मृत्यु क्यान्सरबाट हुन्छ तर, यो बढ्दो क्रममा रहेको छ । सन् २०१० देखि सन् १०१९ सम्मको दौरानमा क्यान्सर रोग २६ प्रतिशतले बढेको देखिन्छ । यसबाट हुने मृत्यु पनि २१ प्रतिशतले बढेको छ । चिकित्सक न्यौपाने भन्छन्, ‘धुमपान मध्यपान सेवन नगरेर साग सब्जिको सेवन गरे मात्रै आधा बढी क्यान्सर घटाउँन सकिन्छ ।’

अधिकारीहरू भन्छन् क्यान्सर, सुगर, फोक्सो र मुटु रोग मध्ये २० प्रतिशत मृत्यु क्यान्सरबाटै हुन्छ । साउथ एसियामा नेपालको अहिले सम्म क्यान्सर प्लान समेत छैन । भुटान, भारत, म्यानमार, श्रीलङ्का र थाइल्याण्डमा मात्रै क्यान्सर प्लान छ । नेपालले भने भर्खर प्लानको तयारी गरेको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो आयोजना गरिएको बताए ।

‘विभिन्न जिल्ला र गाउँहरुमा महिलामा हुने स्तन क्यान्सर र यसको रोकथामका उपायहरुका बारे जानकारी गराउँदै आएका छौं’, उनले भने ।

‘हालै उदयपुरको गाइघाटमा सयौं महिलाको स्वास्थ्य परिक्षण गरेका थियौं डा.सापकोटाले भने, ‘यसबाट गाउँ गाउँमा सेवाको आवश्यकता महशुस गरिएको छ ।’ गाउँमा रोग लागेर अन्तिम अवस्थामा मात्रै महिलाहरु सेवा लिन पुगेको देखियो,’ उनले भने, ‘सरकारले बनाएका नीति निर्माण कागजमै सिमित रहेका छन् ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ