नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बाल शल्य चिकित्सकहरूको सम्मेलन हुँदै


काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बाल शल्य चिकित्सकहरूको सम्मेलन सुरु भएको छ ।

नेपाल बाल शल्य चिकित्सक सङ्घको आयोजनामा आजबाट सुरु भएको सम्मेलनमा स्वदेशी तथा विदेशीगरी करिब २ सय जनाको सहभागिता रहेको छ ।

सङ्घका अध्यक्ष डा.रामानन्द प्रसाद चौधरीले सम्मेलनमा ९ देशका गरी १ सय जना विदेशीहरूको उपस्थिति रहेको बताए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको प्रमुख आतिथ्यमा हुने सम्मेलन दुई चरणमा हुने जानकारी गराए ।

पहिलो चरणको सम्मेलन भोलिसम्म चल्ने छ भने चैत्र ५ देखि ७ सम्म हुने दोस्रो सम्मेलनमा विभिन्न विषयमा छलफल र प्रस्तुति हुने पनि डा. चौधरीले बताए ।

पेड्रियाट्रिक ल्याप्रोस्कोपी हेरिना रिपेयर सर्जरी, कागोशिमा विश्वविद्यालय पेड्रियाट्रिक सर्जरी जापानको आयोजनामा दोस्रो चरणको पहिलो वर्कसप हुने छ भने दोस्रो चरणको वर्कसप नियोनेटल सर्जिकल स्किल्स कोर्स सम्बन्धी वर्कसप ब्रिटिश एशोसिएसन अफ पेड्रियाट्रिक सर्जन्सको आयोजनामा ७ चैतमा हुनेछ । जुन ईशान बाल तथा महिला अस्पताल टोखामा हुनेछ ।

सम्मेलनमा २ वटा ओरेशन (प्रा.डा.रामानन्द प्रसाद चौधरी र डा.नारायण बहादुर थापा मेमोरियल ओरेशन) पनि पहिलो पटक समावेश गरिएको छ ।

सम्मेलनमा विभिन्न उप समितिहरू पनि रहेका छन् ।

डा.चौधरीले यस सम्मेलन र पोस्ट कन्फ्रेन्स वर्कसप पछि बाल शल्य सेवामा नयाँभन्दा नयाँ प्रविधि तथा पद्धतिहरूबारे जानकारी हासिल गर्न सहज हुने बताए ।

साथै नेपालमा बाल शल्य चिकित्सा सेवामा भइरहेको क्रियाकलापहरू सम्बन्धी जानकारी विदेशी बाल शल्य चिकित्सकहरूले समेत पाउनेछन् । यस सम्मेलनबाट वृद्धिविकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा सार्क राष्ट्रहरूका बाल शल्य चिकित्सकहरूको सङ्गठन एफएपीएसएस को पनि सहभागिता रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ