भ्रष्टाचारी पूर्वमन्त्री न्यौपानेले आत्महत्याको चेतावनी दिएपछि ..


काठमाडौं । विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वमन्त्री बद्री न्यौपानेले आत्महत्याको चेतावनी दिन थालेका छन् । उनले आफूले दिएको उजुरी न्याय परिषद्ले छानबिन नगरे आत्महत्या गर्ने उनको चेतावनी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि पूर्वाग्रह राखेर विशेष अदालतमा मुद्दा दयार गरेको उनको आरोप छ ।विशेष अदालतको आदेशविरुद्ध न्याय परिषद् र नेपाल बारमा निवेदन दर्ता गराएको उल्लेख गर्दै पूर्वमन्त्री न्यौपानेले भनेका छन्, ‘उक्त निवेदन छानविनका लागि अगाडि नबढाइए आत्महत्या भन्दा अर्को विकल्प छैन ।’,

काठमाडौंको भृकुटीमण्डप फनपार्कको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै  विशेष अदालतले केही दिनअघि पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष छ महिना कैद र दुई करोड ४३ लाख ६८ हजार भन्दाबढी जरिवान तोकेको थियो । त्यो निर्णयविरुद्ध उनी विषवमन गरेर हिँडेका छन् । अझ एक कदम अगाडि बढेर आत्महत्या गर्ने चेतावनी समेत दिन थालेका छन् ।

भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री न्यौपानेले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति देखाउन पनि उनले सरकारलाई चुनौती दिएका छन्। आफू राष्ट्रका लागि लडेका जिकिर गर्दै उनले भ्रष्टाचार गरेर कमाएको पैसा देखाउन दिएका हुन् । अख्तियारका तत्कालीन प्रमुख आयुक्त नविन घिमिरेले पूर्वाग्रह राखेर विशेष अदातलमा मुद्दा दायर गरेको पूर्वमन्त्री न्यौपानेको आरोप छ ।

न्यायमूर्तिहरुको पनि सम्पत्ति खोजिनु पर्ने उनको भनाइ छ ।’उहाँहरुले फैसला गरेर यति विगो यति कैद भन्ने मान्छेको पनि सम्पत्ति छानबिन हुनुपर्यो’ पूर्वमन्त्री न्यौपानेले भने । उनले यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ‘न्याय परिषददेखि बारमा हालेको निवेदन अगाडि नबढाए अन्तिममा सर्वोच्च अदालतमा आत्महत्या गर्न बाध्य नहोस्’, पूर्वमन्त्री न्यौपानेले सार्वजनिक रुपमा धम्क्याएका छन् ।

विशेष अदालतले गरेको फैसलाकोविरुद्धमा पूर्वमन्त्रीले नै आत्महत्या गर्ने चेतावनी दिन थालेपछि सरकारले यो विषयमा गम्भीर बन्नु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ