डाक्टरको सिफारिस बिना एन्टिबायोटिक्स बिक्रिवितरणमा रोक लगाउनुपर्छ : डा.सुवेदी


काठमाडौं । सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले चिकित्सकको प्रेस्किप्सन बिना एन्टिबायोटिक्स बिक्रि वितरणमा रोक लगाउनुपर्ने बताएका छन् ।

उनले अनावश्यक रुपमा फार्मेसी र सर्वसाधारणले एन्टिबायोटिक्स खरिद बिक्रि गर्ने क्रम पछिल्लो समय बढ्दै गएकाले त्यसलाई तत्काल कडा मापदण्ड ल्याएर रोक्नुपर्ने बताए ।

उनले भने, ‘एन्टिबाइटिक्सको प्रयोग र बिक्रि वितरणका लागि सरकारले कडा मापदण्ड बनाएर त्यसलाई लागू गराउनु पर्छ भने मापदण्ड लागू भयो वा भएन भनेर पनि निरन्तर अनुगमन गर्नुपर्छ । अस्पतालमा पनि चिकित्सकले यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ भने फार्मेसीमा डाक्टरको प्रेस्किप्सन बिना एन्टिबाइयोटिक्स बिक्रिवितरणमा रोक लगाउनुपर्छ ।’

उनले नेपालमा पनि एन्टिमाइक्रोबियल रेसिस्टेन्टको प्रभाव बढ्द थालेकाले जथाभावी यसको प्रयोग र बिक्रिवितरणमा रोक लगाउनु पर्ने भन्दै हरेक निकायले यसतर्फ ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरे ।

उनले नेपालमा पनि एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण मानिस, पशुपन्छि, कृषि र वातावरण क्षेत्र नराम्रोसँग प्रभावित भइरहेकाले यसको प्रभाव कम गर्नका लागि सबैको साझा पहलको आवश्यकता रहेको बताए ।

उनले भने, ‘किर्तिपुर अस्पतालमै दैनिक १ देखि २ जनाको मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण भइरहेको छ । नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण कतिको मृत्यु भइरहेको छ भन्ने यकिन तथ्याङ्क नभए पनि दैनिक हजारौंको मृत्युको कारण एन्टिमाइक्रोबियल रेसिस्टेन्ट हुन सक्छ ।’

डा.सुवेदीले एन्टिमाइक्रोबियल रेसिस्टेन्टले मानिसको मृत्यु गराउनुका साथै अपाङ्ग बनाउने, सामान्य औषधिको प्रयोगले नै निको हुने रोग निको नै नहुने, अस्पताल बसाइको समयवाधि बढाइदिने, महँगो उपचारको अवस्था उत्पन्न गराइदिने र आर्थिक समस्या पनि उत्पन्न गराइदिने हुँदा यो नेपालको लागि चिन्ताको विषय रहेको बताए ।

नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको प्रभाव कम गर्नका लागि चाहिने मापदण्ड, अनुगमन, नियमनको अवस्था कमजोर भएकाले यसको जोखिम थप भयावह बन्दै जाने डा.सुवेदीको भनाइ छ ।

उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्टको प्रभावलाई कम गर्न र यसबारेमा सचेतना फैलाउनका लागि सरकार र सम्बन्धित सबैले पहल गर्नुपर्ने बताए ।

गौण रुपमा महामारीको रुप लिन थालेको एन्टिमाइक्रोबियल रेसिस्टेन्टलाई अबको समयमा सरकारदेखि हरेक निकायले प्राथमिकतामा राखेर यसबारेमा पहल गर्ने, जनचेतना फैलाउने लगायतको काममा ध्यान दिन आजको आवश्यकता रहेको डा.सुवेदीले उल्लेख गरे ।

डा.सुवेदीले भने, ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्टको प्रभावबारे अध्ययन अनुसन्धान गरेर त्यसको यकिन तथ्याङ्को आधारमा सरकारले नीति नियम बनाउनुपर्छ । जनचेतना फैलाउनदेखि हरेक काममा सामुदायिक स्तरमै काम गर्नुपर्छ । अन्यथा अबको केही समयमै एन्टिमाइक्रोबियल रेसिस्टेन्टले ठूलो खतरा निम्तिने छ ।’

क्याटेगोरी : समाचार
ट्याग : ##एन्टिमाइक्रोबियल रेसिस्टेन्ट, ##डा.अनुप सुवेदी, #एन्टिबायोटिक्स

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ