सुर्तिजन्य पदार्थको सेवनले हुने क्यान्सरकाे पहिचान र उपचारमा करिब १० लाख खर्च


काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान तथा उपचारका लागि एकजना बिरामीलाई करिब १० लाख खर्च लाग्ने गरेको पाइएको छ ।

एक्सन नेपालले मङ्गलवार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनले सुर्तिजन्य पदार्थको सेवनका कारण लाग्ने क्यान्सर रोगको पहिचान र उपचारमा ९ लाख ८१ हजार ३ सय ७० खर्च लाग्ने गरेको पनि देखाएको हो ।

१६ प्रतिशत क्यान्सरका बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

यस्तै २ सय ७२ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च व्यहोर्ने र ६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च व्यहोर्ने गरेको पाईयो ।

सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान तथा उपचार गर्न लाग्ने औषत कुल लागत ९ लाख ८१ हजार ३ सय ७० रहेको अध्ययनमा उल्लेख गरिएको छ । जस मध्ये ६० प्रतिशत प्रत्यक्ष मेडिकल खर्च रहेको भेटियो भने १३ प्रतिशत प्रत्यक्ष नन मेडिकल लागत रहेको पाईयो ।

यसैगरि बिरामीका कारण एक वर्षमा २ लाख ७९ हजार ४ सय ८२ (२७ प्रतिशत) ज्याला आम्दानीमा हानी हुने भेटियो । बढि खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झण्डै ४ गुणा बढि उपचारमा खर्च गर्ने गरेको पाईयो । प्रत्यक्ष मेडिकल खर्च अर्न्तगत सबै भन्दा बढि खर्च केमोथेरापीमा २८ प्रतिशत रहेको पनि अध्ययनमा समावेश गरिएको छ ।

यस्तै सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका बिरामीहरू ५५ देखि ५९ वर्ष उमेर समूहका एक चौथाइको सङ्ख्यामा रहेको पनि अध्ययन प्रतिवेदनमा देखाइएको छ ।

एक्सन नेपालले सन् २०१९ मा १ सय ३ जना क्यान्सरका बिरामीहरूमा गरेको अध्ययनले सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सरका एक चौथाइ बिरामीहरू ५५ देखि ५९ वर्ष उमेर समूहका रहेको देखाएको हो ।

उक्त अध्ययन प्रतिवेदनमा बिरामी तथा बिरामीका आफन्तहरूलाई सहभागि गराईएको थियो । जसमा प्रत्यक्ष मेडिकल खर्च (क्यान्सर पता लागउन र उपचार गर्न लाग्ने खर्च), प्रत्यक्ष नन मेडिकल खर्च (यातायात, खाना तथा बास खर्च) र क्यान्सरको कारणले बिरामी तथा बिरामीको आफन्तको गुमेको आय) मा केन्द्रीत विषयहरू समावेश गरिएको थियो ।

अनुसन्धान व्याख्यात्मक, क्रस–सेक्सनल तथा परिणात्मक ढाँचा अनुसन्धान विधि प्रयोग गरेर गरिएको थियो ।

उद्देश्यपूर्ण विधि अपनाएर गरिएको अध्ययनमा नेपालका ४८ प्रतिशत सरकारी तथा ५२ प्रतिशत निजी अस्पतालमा सूर्तिजन्य पदार्थको सेवन गरी क्यान्सर रोग उपचारको लागि भर्ना तथा डिस्चार्ज भएका १ सय ३ जना बिरामीहरू सहभागि थिए ।

जसमा बिरामीको चापका आधारमा (विपि कोइराला मेमोरियल अस्पताल भरतपुरबाट ४९ जना, भक्तपुर क्यान्सर अस्पताल बाट २८ जना र नेपाल क्यान्सर अस्पताल हरिशिद्धि बाट २६ जना) छनोट गरिएका थिए ।

अध्ययनमा बिरामीको उमेर समुह १८ देखि ६५ वर्षका थिए । ओठ, जिब्रो गिजा, मुख, श्वर यन्त्र, श्वास नली, पिसाब थैलि लगायतको क्यान्सर भएका र तेस्रो तथा चौथो चरणमा पुगेका क्यान्सर बिरामी सुर्तिजन्य पदार्थ सेवन गरी क्यान्सर लागेका बिरामी वा बिरामीका आफन्तहरू रहेका थिए ।

अध्ययनमा झण्डै ४६ प्रतिशत बिरामीहरू निरक्षर थिए भने १९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेका थिए । जसमा निरक्षर व्यक्तिहरूमा सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर साक्षरभन्दा बढि भएको पाइयो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ