एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण मानिसको मृत्यु हुने दर डर लाग्दो गरी बढ्दै

किन विश्वका लागि टाउको दुखाईको विषय बन्दैछ एन्टिमाइक्रोबियल रेसिस्टेन्ट ?


काठमाडौं । एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण मानिसको मृत्यु हुने दर डर लाग्दो गरी बढिरहेको पाइएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको एक अध्ययन, जुन स्वास्थ्य सम्बन्धी पत्रिका द ल्यानसेट जर्नलमा प्रकाशित लेखमा विश्वका २ सय ४ देश र क्षेत्रहरू २३ रोगजनक ब्याक्टेरिया तथा ८८ रोगजनक–औषधि संयोजनहरूको लागि ब्याक्टेरिया अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) सँग सम्बन्धित मृत्युको कारणबारे अध्ययन गरेर तल उल्लेखित तथ्य सार्वजनिक गरिएको हो ।

यस आलेख अनुसार सन् २०१९ मा ब्याक्टेरिया एन्टिमाइक्रोबियल रेसिस्टेन्ट १२ लाख ७० हजार मानिसको मृत्यु को कारक थियो। सन् २०१९ मै ४९ लाख ५० हजार मानिसको मृत्यु सँग सम्बधित पनि एन्टिमाइक्रोबियल रेसिस्टेन्ट नै रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

क्षेत्रीय स्तरमा भने सबैभन्दा धेरै मृत्यु पश्चिमी अफ्रिकामा रहेको पनि उल्लेख गरिएको छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण पश्चिमी अफ्रिकामा प्रति एक लाखमा २७ को मृत्यु भएको अध्ययनमा समावेश गरिएको छ ।

यस्तै सबैभन्दा कम अष्ट्रेलियामा प्रति एक लाखमा ६ जनाको मृत्यु भएको छ ।

सन् २०१९ मा तल्लो श्वासप्रश्वासको सङ्क्रमणका कारण १० लाख ५ हजारभन्दा बढीको मृत्यु भएको थियो । जुन एन्टिमाइक्रोबियल रेसिस्टेन्टसँग सम्बन्धित थियो ।

सन् २०१९ मा एन्टिमाइक्रोबियल रेसिस्टेन्टसँग सम्बन्धित ९ लाख २९ हजार मृत्यु गराउने कारण विशेषगरी ६ प्रकारका एन्टिमाइक्रोबियल रेसिस्टेन्ट ब्याक्टेरिया थिए ।

मृत्यु गराउने ६ कारक तत्वमध्ये कुनै एक कारणले ५० हजारदेखि २ लाखजनासम्मको मृत्यु भएको थियो ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण विश्वभर भइरहेको मृत्यु र मानव स्वास्थ्यमा परिरहेको प्रभाव विश्वका लागि ठूलो खतरा बन्दै गएको अध्ययनको निस्कर्स रहेको छ ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट किन विश्वका लागि तनावको विषय बन्दैछ ?
एन्टिमाइक्रोबियल रेसिस्टेन्टसँग सम्बन्धित विषयमा अध्ययन र अनुसन्धान गर्दै आएका वैज्ञानिक डा.सन्तोष दुलालले पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको एन्टिमाइक्रोबियल रेसिस्टेन्टलाई सुस्त वा गौंण महामारी रहेको बताए ।

उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण पछिल्लो समय मानव मात्रै नभएर वातावरण र पशुपन्छीको स्वास्थ्यमा पनि ठूलो असर गरिरहेको बताए ।

मानिसमा देखिएको अज्ञानता र कमजोर नीति नियमका कारण पछिल्लो समय नेपालमा पनि यसको प्रभाव देखिन थालेको भन्दै डा.दुलालले भने, ‘यदि समय छँदै हामी सचेत भएनौं र यसको प्रभावलाई रोक्न सकेनौं भने चौतर्फी क्षति भोग्नुपर्छ ।’

सन् २०५० सम्म पुग्दा बर्सेनि १ करोड मानिसको मृत्युको कारण एन्टिमाइक्रोबियल रेसिस्टेन्ट हुने र विश्वभर १ सय ट्रिलियन अमेरिकन डलरको आर्थिक क्षति हुने चेतावनी पनि डा.दुलालले दिए ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट किन यसरी विश्व स्वास्थ्यका लागि ठूलो चुनौती बन्दै गएको छ भन्ने प्रश्नमा डा.दुलाल भन्छन्, ‘पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका कारण ब्याक्टेरियाहरू थप बलियो हुँदै गएका छन् । ब्याक्टेरिया निरन्तर परिवर्तनशिल हुने भएकाले उनीहरू थप सङ्क्रामक बन्दै गइरहेका छन् । पृथ्वीमा मानिसको हस्तक्षेप बढ्दै गएको छ । सूक्ष्म जीवाणुको आनुवांशिक परिवर्तन पनि छिटोछिटो भइरहेको छ ।’

पृथ्वीको तापक्रम बढ्नु, सहरीकरण बढ्नु जस्ता कारणले पनि पछिल्लो समय एन्टिमाइक्रोबियल रेसिस्टेन्ट चिन्ताको विषय बन्दै गएको भन्दै डा.दुलालले थपे, ‘पछिल्लो ३५ वर्षमा एउटा पनि नयाँ एन्टिबायोटिक्स पत्ता लाग्न सकेको छैन । जुन थप चिन्ताको विषय बनेको छ ।’

नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘नेपालमा पनि यसको अवस्था चिन्ताको विषय बन्दै गएको छ । मेडिकल भाषामा प्रयोग हुने सेकेन्ड लाइन र थर्ड लाइन ड्रगको असर कम देखिन थालेको छ । यसको अर्थ नेपालमा पनि एन्टिमाइक्रोबियल रेसिस्टेन्टले आफ्नो प्रभाव देखाउन थालेको छ ।’

उनले कम विकसित मुलुकमा एन्टिमाइक्रोबियल रेसिस्टेन्टको खतरा अन्य मुलुकको तुलनामा बढी रहेको बताए ।

उनले भने, ‘कम विकसित मुलुकमा जनचेतनाको अभाव छ । राज्य संयन्त्र पनि बलियो छैन । विद्यमान प्रयोगशालाहरू मध्ये अधिकांश उपयुक्त र गुणस्तरीय प्रयोगशाला को अभाव छ । जसका कारण एन्टिमाइक्रोबियल रेसिस्टेन्ट खतरातर्फ उन्मुख हुँदैछ ।’

एन्टिबायोटिक्स सेवन गर्दा मापदण्डको पालना नगर्ने, सर्वसाधारणले पनि डाक्टरको प्रेस्किप्सन बिना सजिलै खरिद गरेर सेवन गरिदिने, बजारमा पनि बिक्रिवितरण गर्नेले बिना मापदण्ड नै बिक्रि गरिदिनाले यसको जोखिम थप बढ्दै गएको उनले उल्लेख गरे ।

डा.दुलाले भने, ‘कुनैपनि औषधि सेवन गर्दा पूरा मात्रा सेवन गरिएन र त्यसलाई बीचमै छोडियो भने त्यसले शरीर भित्रका ब्याक्टेरियालाई थप बलियो बनाउन मद्दत पुग्ने भएकाले सर्वसाधारणले चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक्स सेवन गर्नु हुँदैन भने सेवन गर्दा पूरा मात्रा सेवन गर्नुपर्छ ।’

पछिल्लो समय जनावर र पन्छीहरूमा पनि यसको प्रभाव देखिन थालेकोमा डा.दुलालले चिन्ता व्यक्त गरे ।

उनले कुखुराको दानामा पनि एन्टिबायोटिक्सको प्रयोग भइरहेको र त्यसको सेवनले मानिसलाई पनि नराम्रो असर गरिरहेको बताए । कति मात्रामा प्रयोग गर्ने, त्यसको मापदण्ड के हो भन्ने स्पष्ट मापदण्ड नहुँदा जोखिम बढिरहेको उनको भनाइ छ ।

त्यस्तै अस्पतालबाट निस्किने फोहोर, एन्टिबायोटिक्सको प्रयोग पछि निस्किने तत्वको उचित व्यवस्थापन नहुँदा त्यसले वातावरण, मानिस र पशुपालनमा पनि ठूलो जोखिम निम्त्याइरहेको डा.दुलालले बताए ।

उनले भने, ‘अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा र त्यसलाई माटोमा गाड्ने वा खोलानालामा बगाउँदा त्यसले जमिन, पानी र वातावरणलाई दूषित बनाइरहेको छ । जसका कारण ती पानी खेतवारीसम्म पुग्छ र त्यसबाट उब्जने अन्नबालीले मानिस, वातावरण र पशुपन्छिको स्वास्थ्यलाई जोखिम थपिरहेको छ । यसको मापदण्ण, नियमन र अनुगमनको पनि आवश्यक छ।’

अर्को भनेको मानिस र जङ्गली जनावरबीचको द्वन्द्वका कारण पनि जोखिम बढिरहेको उनको भनाइ छ ।

जङ्गली जनावरबीचको बसोबास रहेको क्षेत्रमा मानिसहरूले अतिक्रमण गरिदिँदा उनीहरूको बासस्थान प्रभावित हुने गरेको भन्दै डा. दुलालले थपे, ‘जङ्गली जनावरको बासस्थान अतिक्रमित हुँदा उनीहरू मानव बस्तीमा प्रवेश गर्छन् । जसले गर्दा मानिसहरूमाथि आक्रमण हुन सक्छ र जनावरमा भएका ब्याक्टेरियाले महामारीको रुप लिन सक्छ ।’

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ