कोरोनाले थलिएको अर्थतन्त्रमाथि नेकपा विप्लव समूहको चन्दा आतंक


काठमाडौं । कोभिड-१९ (कोरोन), डेंगुलगायतका कारण मुलुकको अर्थतन्त्र चौपट बन्दै गएको छ । सरकारी कर्मचारीलाई तलब खुवाउन हम्मेहम्मे परेको छ ।

सरकारले धरौटी र विभिन्न कोषको रकम तानेर कर्मचारीलाई तलब खुवाउन थालेको छ । कर्मचारीलाई चैत र बैशाखको तलब कसरी खुवाउने भन्नेमा अर्थ मन्त्रालयका अधिकारीहरू सोच मग्न छन् । तर, मुलुकको यस्तो थिलथिलो अर्थतन्त्र भएको बेला नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको चन्दा आतंक सुरू भएको छ ।

माओवादी घटकका रूपमा रहेको विप्लव समूहले काठमाडौं उपत्यकासहित देशभरका स्थानीय तह, प्रदेश र संघीय निकायमा चन्दा मागेर हैरान पार्न थालेका छन् ।

स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार विप्लव समूहले काठमाडौं महानगरपालिकासहितका काठमाडौंका स्थानीय तहमा चन्दा मागेर हैरान पारेको छ । काठमाडौं महानगरपालिकाको वडा तहमै पुगेर विप्लव समूहले चन्दा दिन धम्की दिन थालेको छ । पार्टी चलाउन पैसा चाहिन्छ भन्दै विप्लवका ‘केटा’हरूले वडा तहमै पुगेर चन्दाको धन्दा चलाउन थालेका हुन् । कोरोना, डेंगुलगायतका कारण अर्थतन्त्र नै धराशायी बनेको अवस्थामा विप्लव समूहको चन्दा आतंकले सरकारी निकायलाई थप आहत परेको देखिन्छ ।

काठमाडौंका विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताले निरन्तर चन्दा मागिरहेका छन् । नाम उल्लेख नगर्ने शर्तमा केही प्रशासकीय अधिकृतले विप्लव समूहका कार्यकर्ताले चन्दा मागेको स्वीकारे । स्वास्थ्य लाइभकर्मीले काठमाडौं महानगरपालिकाका केही वडाध्यक्षहरुसँग कुराकानी गर्दा विप्लव समूहले चन्दा आतंक मच्चाएको पुष्टि गरे । भ्रष्टाचारको विरोध गर्ने नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले चन्दा आतंक मच्चाए के गर्न खोजेको आफूहरूले बुझ्न नसकेको एक वडाध्यक्षको प्रतिक्रिया छ ।

विप्लव समूहले चन्दा आतंक मच्चाउँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको पाइन्छ । राज्य संयन्त्र छ की छैन भन्ने गम्भीर प्रश्न उठेको स्थानीय तहका अधिकारीहरू सुनाउँछन् । विप्लव समूहको चन्दा आतंक हेर्दा मुलुकमा अर्थतन्त्र मात्र होइन शान्ति सुरक्षा, विधिको शासन, सुशासनलगायतका अवस्था खस्किँदै गएको पाइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना, #चन्दा आतंक विप्लव समूह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ