नेपाल दृष्टि विशेषज्ञ सङ्घको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा आँखा सेवा सुरु


काठमाडौं । नेपाल दृष्टि विशेषज्ञ सङ्घले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको गोकर्णेश्वर नगर अस्पतालसँग सहकार्य गरेर आँखा सेवा सुरु गरेको छ ।
बुधवार एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले आँखा सेवाको उद्घाटन गरेका हुन् ।

अप्टोमेट्री गिभिङ साइटको आर्थिक सहयोग र नेपाल दृष्टि विशेषज्ञ सङ्घको नेतृत्वमा उक्त आँखा युनिट सञ्चालनमा आएको हो । यस सेवा विस्तारबाट अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा सम्पूर्ण गोकर्णेश्वर नगरपालिका बासीले आँखाको प्राथमिक सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल दृष्टि विशेषज्ञ सङ्घ, नेपाली दृष्टि विशेषज्ञहरूको छाता सङ्गठन हो । दृष्टि विशेषज्ञ पेशाको पहिचान, स्थापना र हकहितका लागि सन् २००३ मा स्थापित यस सङ्गठनले नेपालमा गुण्स्तरिय तथा सर्वशुलभ आँखा स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन दृष्टि विशेषज्ञको महत्वपूर्ण भूमिकालाई उजागर तथा स्थापित गर्न विभिन्न क्रियाकलाप अन्तर्गत नीति पैरवी पनि गर्दै आएको छ ।

नेपाल दृष्टि विशेषज्ञ सङ्घका अध्यक्ष निरज देव जोशीले सङ्घले २० वर्षदेखि गर्दै आएका कार्यहरू उजागर गर्ने क्रममा यस गोकर्णेश्वर नगर अस्पतालले आँखा सेवा प्रदान गर्ने मौका दिएकोमा आभार व्यक्त गरे ।


प्रायः जसो आँखा सेवाको लागि नेपालमा छुट्टै अस्पताल हुने गर्दछ । तर, गोकर्णेश्वर नगर अस्पतालले आफ्नो सेवामा आँखा सेवा समावेश गरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अन्तर्गत आधारभूत स्वास्थ्य सेवामा आँखा सेवालाई संल्गन गर्ने मूल मर्मलाई कार्यान्वयन गरेको कुरा पनि उनले बताए ।

नगर प्रमुख दिपक कुमार रिसालले हाल ४ नं. को वडा कार्यलय भवनमा शुरुवात गरिएको आँखा सेवालाई चाडैँ नै अस्पतालको निर्माणाधीन भवनमा सार्ने लक्ष्य रहेको बताए ।

आगामी आर्थिक वर्ष २०८०।०८१ सम्ममा सम्पूर्ण नगरबासीलाई अनिवार्य स्वास्थ्य बीमामा समायोजन गर्ने उद्देश्य रहेको पनि उनको भनाइ छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा नगर अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम महतले नगरको आँखा सेवा विस्तारको पहलमा नेपाल दृष्टि विशेषज्ञ सङ्घले उपकरण तथा जनशक्ति प्रदान गरी जोडिएकोमा सङ्घलाई व्यक्तिगत र नगरको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ