वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे सचेत गराउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुल गेटमा कृत्रिम फोक्सो जडान भएको छ।

स्वच्छ यूएसएआईडी हावा परियोजनासँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको हो।

यस कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउने मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए ।

साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यु एअरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्क अनुसार विश्वका १३१ देशहरूमध्ये धेरै वायुप्रदुषण हुने देशहरूमा नेपाल १६ औं स्थानमा रहेको छ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सय जनाको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो।

दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युको ठूलो कारण मध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुने गर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ