कार्यक्रम सुरु भएको सात वर्षपछि देशका ७७ जिल्लामै लागू भयो स्वास्थ्य बीमा


काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम देशका ७७ जिल्लामै लागू भएको छ ।

२०७२ साल चैत २५ गतेदेखि सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमको सात वर्षमा ७७ जिल्लाका ७ सय ४८ पालिकामा सञ्चालन भएको हो ।

अहिलेसम्म ६४ लाख ५४ हजार ७ सय ७२ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

हरेक वर्ष नविकरण गर्नु पर्ने‌ स्वास्थ्य बीमामा अहिले अद्यावधिक ३८ लाख ७१ हजार ८ सय ५० जना मात्रै रहेका पनि बोर्डले जनाएको छ ।

यो कार्यक्रममा आवद्धता हुन पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर कुल १ लाख रुपैयाँसम्मको उपचार सेवा लिन पाउछन्।

बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले कार्यक्रम लागू नभएका काठमाडौँ, ललितपुर महानगर लगायतका पालिकाहरूमा प्रथम विन्दु तोक्न समस्या हुँदा कार्यक्रम लागू गर्न ढिलाई भएको बताए।

स्वास्थ्य बीमा बोर्डले अहिलेसम्म अति गरीव ४ लाख ९८ हजार ७ सय २२ जना, जेष्ठ नागरिक ७ लाख ७७ हजार ८ सय १६ जना, एचआईभी सङ्क्रमित र तिनका परिवार गरी ३२ हजार ५ सय ३० जना, अति अशक्त विमित १ लाख २२ हजार १ सय ५४ जना, कुष्टरोग बिरामी ३ हजार २ सय ४२ जना र एमडीआर क्षयरोग भएकाहरू ३ हजार १७ जनलाई नि: शुल्क रुपमा स्वास्थ्य बीमा आवद्धता गरिएको बताएको छ ।

त्यसैगरी १ लाख ९ हजार ६ सय ७ जना परिवारका सदस्य सहितका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट सुविधा दिएर स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गराएको उल्लेख गरेको छ।

वार्षिक बजेट १७ अर्व, ३२ करोड ८७ लाख ५७ हजार रुपैयाँ भएकोमा आलु आर्थिक वर्षको १५ चैत सम्म कुल खर्च ९ अर्व ९७ लाख ३१ हजार २० रुपैयाँ (५२ प्रतिशत) खर्च भएको उल्लेख छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ