चिकित्सा शिक्षा आयाेगले म्याचिङबाहिर भर्ना गरेकाे अनेरास्ववियुकाे आराेप


काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले चिकित्सा शिक्षा आयाेगले म्याचिङबाहिर भर्ना गरेकाे आराेप लगाएको छ ।

चिकित्सा शिक्षा आयोगले पोस्ट ग्रेजुएट/अन्डर ग्रेजुएट (एमबीबीएस/बीएससी नर्सिङ) लगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा अनलाइन प्राथमिकता निर्धारणका आधारमा हुनेछ भनेर चिकित्सा शिक्षा ऐनले स्पष्ट उल्लेख गरेको छ । तर, आयोगले म्याचिङ प्रणालीमा संशोधन गरी योग्यता क्रमको आधारमा भर्ना गर्न पाउने अधिकारविरुद्ध गरेको निर्णयप्रति अनेरास्ववियुले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

विज्ञप्तिमार्फत् २०७८ फागुन २८ गते प्रकाशित सूचना अनुरुप मेरिटोक्रेसीको मर्म नमिचिने गरी म्याचिङ प्रणालीका आधारमा भर्ना गर्नुपर्नेमा आयोगले उक्त म्याचिङ प्रणालीमा संशोधन गरी योग्यताक्रमको आधारमा भर्ना गर्न पाउने अधिकारविरुद्ध गरेको निर्णयप्रति अनेरास्ववियुले ध्यानाकर्षण गराएको हाे ।

युनियनका अध्यक्ष समिक बडालले आयोगको उक्त निर्णयप्रति सर्वोच्च अदालतले समेत यहि वर्षको फागुन ५ गतेको उत्प्रेषण आदेशमार्फत् स्पष्ट गरेको पनि बताए ।

उनले परीक्षा सञ्चालन पश्चात हालसम्म पनि परीक्षाको नतिजाको वैज्ञानिक व्यवस्थापन नगरी चरम लापरबाही र सर्वोच्चको फैसला विपरित हावादारी म्याचिङ्ग प्रणाली स्थापित गराई आम विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरिरहेको पनि बताए ।

अध्यक्ष बढालले मेरिटोक्रेसीको अन्तर्राष्ट्रिय मापदण्डको धज्जी उडाउँदै विद्यार्थी भर्ना प्रक्रिया अगाडी बढाएकोमा पनि गम्भीर आपत्ति जनाए ।

चिकित्सा शिक्षाका विद्यमान तमाम समस्याहरूलाई समाधान गर्ने भनेर स्थापना गरिएको आयोग नै चिकित्सा शिक्षाको आधारभूत मानाङ्क नै समाप्त पार्दै गइरहेको महसुस अभिभावकहरूले गरिरहेको उनको भनाइ छ ।

विद्यार्थीहरूको भविष्य माथिका गम्भीर असर पर्ने यस्तो गलत कार्य यथाशक्य छिटो सच्याएर आफ्नो शैक्षिक प्रक्रिया अगाडी बढाउन माग गर्दै आफ्ना माग पूरा नभए अनेरास्ववियुले आन्दोलन गर्ने अध्यक्ष बडालले चेतावनी समेत दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ