स्वास्थ्य मन्त्री नभएकाे माैका छाेपी काेराेनाकाे चाैथाे लहर सुरु ! मन्त्री आउने अत्तोपत्तो छैन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नेतृत्त्वबिहीन बनेको डेढ महिना बितिसक्यो । गत फागुन १५ मा नेकपा एमालेको तर्फबाट स्वास्थ्य मन्त्री बनेका पदम गिरीले राजीनामा दिएसँगै मन्त्रालय नेतृत्त्वबिहीनताको अवस्थामा रहेको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्त्वको सरकारमा गएको एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्य मन्त्रालय नेतृत्त्वबिहीन बनेको हो । माघ ३ मा मन्त्रालयको जिम्मेवारी सम्हालेका गिरी ४१ दिनमै बाहिरिए । त्यसपछि स्वास्थ्य मन्त्री कुन पार्टीको भागमा पर्ने र मन्त्री को बन्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।
मन्त्रालय नेतृत्त्वबिहीन बनिरहँदा कोरोना महामारीको जोखिमले थप चिन्ता बढाउन थालेको छ । तर, स्वास्थ्य क्षेत्रको सम्पूर्ण जिम्मेवारी लिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हालसम्म नेतृत्त्वबिहीनको अवस्थामा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा नीतिगत कामकाज प्रभावित भइरहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयको नेतृत्त्वमा को आउँने भन्ने कुनै टुङ्गो छैन । जसका कारण कोरोनाको जोमिख, कोरोनाविरुद्धको खोप अभियान लगायतलाई कसरी अगाडी बढाउने विषयमा पनि ठोस् निर्णय हुन सकिरहेको छैन ।
यसअघि कोरोना महामारीको तीन चरणको लहरको सामना गरिसकेको नेपालमा अब चौथो लहरको जोखिम बढ्न थालेको विज्ञहरूको आँकलन छ ।
सङ्क्रामक रोगबारे अध्ययन गर्दै आएका डा.सुजन मरहट्ठाका अनुसार हालसम्म कोरोना महामारीको अवस्थालाई हेर्ने हो भने भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै गर्दा नेपालमा पनि जोखिम बढ्दै गएको देखिन्छ ।
उनले भने, ‘पछिल्ला कोरोनाका तीन लहरको अवस्थालाई नियाल्ने हो भने भारतमा कोरोना सङ्क्रमणको दर बढेको ३ देखि ४ हप्तापछि नेपालमा सङ्क्रमण दरले तिव्रता लिन थाल्छ । हालको अवस्था पनि त्यस्तै देखिएको छ । भारतमा पछिल्लो डेढ महिनादेखि कोरोना सङ्क्रमणले तिव्रता लिन थालेको छ । सोहीको प्रभाव अनुसार नेपालमा पनि सङ्क्रमण उच्च हुँदै गएको छ ।’
डा.मरहट्ठा भन्छन्, ‘तत्कालै नेपालमा चौथो लहर आइसक्यो भनेर भन्न मिल्दैन । तर, पछिल्लो एक साताको मात्रै पनि कोरोना सङ्क्रमणको दरलाई हेर्ने हो भने यो बढ्दै गएको छ । यदि यसरी नै निरन्तर कोरोनाको दर उकालो लाग्दै जाने हो भने कोरोनाको चौथो लहर आउँदैन भनेर भन्न सकिँदैन ।’
विशेषगरी अहिलेको अवस्थामा दीर्घरोगीलाई बढी प्रभावित बनाइरहेको पनि देखिदैँछ भन्दै उनले रोकथामको उपायमा नै सबैले जोड दिनुपर्ने बताए ।
कोरोनाको जोखिम बढ्दै गएको बेला सम्बन्धित मन्त्रालय नै नेतृत्त्वबिहीन रहँदा त्यसले नितीगत निर्णय गर्न पनि समस्या हुने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरसको परिवर्तित स्वरुप ओमिक्रोनको बीए.१.१, ओमिक्रोन बीए.५, ओमिक्रोन बीए.२.७६, ओमिक्रोन बीए.५, ओमिक्रोन बीए ५.२, ओमिक्रोन एक्सबीबी.१.१६, ओमिक्रोन एक्सबीबी.१.५, ओमिक्रोन एक्सबीबी.२.६, ओमिक्रोन एक्सबीएफका कारण मानिसहरू सङ्क्रमित भइरहेका छन् । जबकी छिमेकी मुलुक भारतमा ओमिक्रोनको एक्सबीबी.१.१६ ले सङ्क्रमण दर बढिरहेको छ ।
सरकारले भारतमा देखिएको ओमिक्रोनको एक्सबीबी.१.१६ भाइरसले सङ्क्रमण फैलाइरहेको हुँदा भारतसँग जोडिएका सीमानाका क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ भने अर्कोतर्फ कोरोनाको खोप पनि लगाउन आग्रह गरेको छ ।
हुन त हालसम्म यो भाइरस कति खतरनाक छ र यसले कस्तो गम्भीर अवस्था निम्त्याउँछ भन्ने यकिन भइसकेको छैन । तर, यो समयले कोरोनाको पहिलो लहरलाई याद दिलाउन थालेको छ ।
२०७६ मा पनि चैतदेखि नै कोरोना सङ्क्रमणले तिव्रता लिन थालेको थियो र अवस्था निकै भयावह बनेको थियो । त्यसपछि गत वर्षको वैशाखबाट सुरु भएको कोरोनाको दोस्रो लहरले नेपालको स्वास्थ्य क्षेत्रलाई नै थप उदाङ्गो बनाइदिएको थियो । तेस्रो लहरका मानिसको मृत्यु दर कम भएपनि सङ्क्रमण दर भने १० हजार नै नाघेको थियो ।
हालको अवस्थामा सरकारको तथ्याङ्क केलाउने हो भने कोरोनाका दैनिक सङ्क्रमित सयका दरले थपिन थालेका छन् । जसले आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको सङ्ख्या पनि थपिँदै गएको छ ।
मङ्गलवार १३ जना कोरोना सङ्क्रमित बिरामी आईसीयूमा उपचाररत रहेका छन् भने भेन्टिलेटरमा ५ जना बिरामीको उपचार भइरहेको छ । यो दर अझै बढ्न सक्ने अनुमान पनि गरिँदैछ ।
कोरोना सङ्क्रमणको दर उच्च हुँदै गर्दा सरकारले खोप अभियानलाई तिव्रता दिएको छ । हालसम्म नेपालमा लक्षित समूहले शत प्रतिशत खोप लगाउन सकेका छैनन् भने कोरोना सङ्क्रमणको दर साम्य हुँदा खोप अभियान पनि सुस्त देखियो । दैनिक १ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य भएपनि त्यो २० देखि ४० हजारमा झरेको छ ।
एक महिना अघिको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्याको ७६ दशमलव ५ प्रतिशतले मात्रै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७९ दशमलव ५ प्रतिशतले एक मात्रा खोप लगाएका छन् । यस्तै १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा मुनिका ९५ दशमलव ७ प्रतिशतले मात्रै पूर्णमात्रा खोप लगाएका छन् भने ९९ दशमलव ५ प्रतिशतले एकमात्रा खोप मात्रै लगाएका छन् ।
नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप पनि सबैले नलगाएको हुँदा यदि चौथो लहर सुरु भयो भने त्यसले फेरि जोखिम निम्त्याउँछ । त्यसकारण पनि सरकारले सबैलाई अनिवार्य खोप लगाउन आग्रह गर्न थालेको छ ।
विश्वका अन्य मुलुक बेलायत, अमेरिका, भारत लगायतमा कोरोनाको चौथो मात्रा लगाउने तयारी भइरहँदा नेपालमा हालसम्म कोरोनाको दोस्रो मात्रा र अतिरिक्त खोप लगाउनको सङ्ख्या नै पूर्ण हुन सकेको छैन ।
सरकारले खोप पनि बेलाबेलामा ल्याइ नै रहेको छ । तर, सम्बन्धित व्यक्तिले खोप नलगाउँदा जोखिम बढेको सरकारी निकायको भनाइ छ ।
त्यतिमात्रै होइन सर्वसाधारणले पनि दूरी कायम ४१, मास्क लगाउने, हात धुने वा स्यानिटाइजरको प्रयोगमा वेवास्ता गर्ने गरेको देखिन्छ । त्यसमाथि मौसमी फ्लूको पनि मौसम रहेकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि कोरोना परीक्षण गराउने क्रम घटिरहेको देखिन थालेको छ । अझै पनि मानिसहरूमा पोस्ट कोभिड देखिने भएकाले चिकित्सकहरूले भने वेवास्ता नगरी समयमै परीक्षण गराउन आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचारट्याग : ##कोरोना महामारी, #पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस