काठमाडौं जिल्ला बारले वकील र न्यायाधीशको स्वास्थ्य परीक्षण गरायो


काठमाडौं । ग्राण्डी अस्पतालसँगको सहकार्यमा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले वकील र न्यायाधीशहरूको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ ।

नव वर्ष २०८० को अवसर पारेर काठमाडौं जिल्ला अदालत बार एसोसिएसन (का.जि.अ) बारले वकील र न्यायाधीशहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराएको हो ।

नयाँ वर्षसँगै वकील र न्यायाधीशहरूको स्वास्थ्यमा विशेष ध्यान दिँदै बारले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण व्यवस्था गरेको छ । बारहरूले सामान्य शुभकामना आदानप्रदान कार्यक्रम मात्रै राख्दै आएकोमा काजिअ बारले भने कानुन व्यवसायीहरुको स्वास्थ्य संवेदनशीलतामा समेत ध्यान दिएको छ ।

आफ्नो स्वास्थ्य ठीक छ की छैन भनेर धेरै वकीलहरू बारको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा पुगेका थिए । काठमाडौं जिल्ला अदालतका १ नम्बर न्यायाधीश राजुकुमार खतिवडादेखि नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षसम्म बारको निःशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रममा सहभागी भएका छन् ।

बारका पूर्व अध्यक्ष हरिहर दाहाल, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता केदार कार्की, नेपाल कानुन व्यवसायी परिषद्का पार्षद् डा. चन्द्रकान्त ज्ञवाली, पर्शुराम घिमिरे, अधिवक्ता राजु कटुवाल, अरुण पौडेल, सुनिल पाण्डेलगायत सयौं कानुन व्यवसायीको उपस्थिति रहेको थियो । बारले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धेरै कानुन व्यवसायीहरुको सुझाव छ ।

काठमाडौं जिल्ला अदालत बारका उपाध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार १९९ जना वकील र न्यायाधीशले निःशुल्क स्वास्थ्य परीक्षणमा गराएका छन् । स्वास्थ्य शिविरमा वकील, कर्मचारी, न्यायाधीश र अदालतमा आउने सेवाग्राहीले समेत निःशुल्क स्वास्थ्य परीक्षण गराएको उनले स्वास्थ्य लाइभलाई बताए ।

काठमाडौं जिल्ला अदालत बारको निःशुल्क स्वास्थ्य परीक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अधिवक्ता अधिकारीको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ