वायु प्रदूषणका कारण बर्सेनि ४० हजारकाे मृत्यु, मृत्यु कम गराउन स्वास्थ्यद्वारा मन्त्रालयमा कृत्रिम फाेक्साे प्रदर्शन


काठमाडौं । नेपालमा फेरि प्रदूषणको दर बढ्न थालेको छ । आइतवार मात्रै काठमाडौं विश्वका प्रदूषित सहरको पहिलो स्थानमा परेको छ ।

एअर क्वालिटी इन्डेक्सका अनुसार आइतवार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको देखाएको छ । एअर भिजुअल सूचक आइक्यू १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

पछिल्लो केही वर्षदेखि बढ्दै गएको वायु प्रदूषणका कारण नेपालमा हजारौं मानिसहरूले अकालमै ज्यान गुमाउन थालेका छन् ।

सरकारको तथ्याङ्कलाई आधार मान्ने हो भने सन् २०१९ मा मात्रै नेपालमा ४० हजारभन्दा बढी मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको थियो ।

विश्वका धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२३ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्क अनुसार विश्वका १ सय ३१ मुलुकमध्ये धेरै वायुप्रदूषण हुने देशमा नेपाल १६ औं स्थानमा छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसहरूको मृत्यु हुने गर्छ । सन् २०२१ मा मात्रै पीएम २.५ पार्टिकल्सका कारण ५ वर्ष मुनिका झन्डै ४० हजार बालबालिकाहरूको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रहेको सङ्गठनको भनाइ छ ।

स्टेट अफ ग्लोबल एयर रिपोर्टका अनुसार नेपालमा बर्सेनि करिब ४० हजार मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको छ । जसमा फोक्सोको क्यान्सर, मुटु सम्बन्धी समस्या, निमोनिया, दम, मस्तिष्कघात लगायतका रहेका छन् । जुन चिन्ताको विषय हो ।

नेपालमा बढ्दो शहरीकरण, वनजङ्गलमा हुने डढेलोका कारण वायु प्रदूषणको दर निरन्तर उकालो लाग्दै गएको जानकारहरू बताउँछन् । बढ्दो वायु प्रदूषणका कारण मानिसको श्वासप्रश्वास प्रक्रियामा समस्या उत्पन्न गराई मृत्यु नै गराउने गरेको चिकित्सकहरूको भनाइ छ ।

विशेषगरी दीर्घकालीन फोक्सोको रोग (सीओपीडी) नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये एक रहेको श्वासप्रश्वास चिकित्सक डा. रक्षा पाण्डेको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा मृत्यु हुने विभिन्न कारणमध्ये वायु प्रदूषण चौथों स्थानमा रहेको छ भन्दै उनले भनिन्, ‘घरमा काम गर्दा निस्कने धुलोका कारण पनि मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने र त्यसले लामो समयसम्म समस्या भइरहने गरेको पाइएको छ ।’

डा.पाण्डेले सुर्तिजन्य पदार्थका कारण हुने जोखिम र मृत्युबारे जुन स्तरमा जनचेतना फैलाउने र कार्यक्रमहरू गर्ने गरिएपनि वायु प्रदूषणबारेको जोखिमबारे अझै ठोस कार्यक्रम र योजना आउन नसकेको हुँदा पनि जोखिम बढेको बताइन् ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार हावामा पाइने साना धुलोका कण (पार्टिकुलेट म्याटर्स) पीएम २.५ को दैनिक औसत मापदण्ड ४० माइक्रोगाम्र प्रतिघनमिटर हुनुपर्नेमा त्योभन्दा दुईदेखि तीन गुणासम्म बढी हुने गरेको डा.पाण्डेको भनाइ छ ।

उनले थपिन्, ‘हावाको कणमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम, धुलोका स–साना कणहरू हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कणहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारी साधन, उद्योग, कृषि, निर्माण, घाँस दाउरा बाल्दा यस्ता कणहरू निस्कन्छन् । जसले तत्काल वा दीर्घ रुपमा समस्या निम्त्याउँछ ।’

वायु प्रदूषणका कारण आयू कम हुने, विशेषगरी मुटुका बिरामी, फोक्सोका बिरामी, क्यान्सरका बिरामी बढेने हुन्छ भने स्वस्थ व्यक्तिलाई पनि रोगी बनाउने हुने भएकाले आफू कसरी स्वस्थ रहने भन्ने विषयमा सबैले आ आफ्नो तर्फबाट पहल गर्नुपर्ने डा.पाण्डेको भनाइ छ ।

वायु प्रदूषणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साता मात्रै आफ्नो मुल गेटमा कृत्रिम फोक्सो जडान गरेको छ । यूएसएआईडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसर पारेर शुक्रवार कृत्रिम फोक्सो जडान गरिएको थियो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले नेपालमा पछिल्लो समय वायु प्रदूषणका कारण हुने मृत्यु र स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने उदेश्यका साथ कृत्रिम फोक्सो जडान गरिएको बताए ।

उनले भने, ‘मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिबिम्बित गर्ने छ । ३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुर्याउँछ । उक्त कृत्रिम फोक्सोसँगै काठमाडौंको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।’

नेपालमा वायु प्रदूषण कम गर्नका लागि अनावश्यक सवारीसाधनको प्रयोग नगर्ने, जथाभावी आगो बाल्ने काम नगर्ने, धुँवाधुलोयुक्त स्थानमा नजाने, अनावश्यक रुपमा घरभन्दा बाहिर नजाने, जानै परे मास्कको प्रयोग गर्ने लगायतका काम गर्नुपर्छ भने सरकारले पनि वायु प्रदूषणको जोखिमलाई ध्यानमा राखी आगामी दिनमा ठोस योजना ल्याउन आवश्यक छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. रक्षा पाण्डे, #फोक्सोको रोग, #यूएसएआईडी, #वायु प्रदूषण

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ