लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिबीच आत्मिय सम्बन्धका कारण हिंसा


काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिबीच आत्मिय सम्बन्धका कारण हुने हिंसा डरलाग्दो रहेको एक अध्ययनले देखाएको छ ।

समलिङ्गी महिला, द्वयलिङ्गी महिला, ट्रान्सजेन्डर पुरुष र तेस्रोलिङ्गी पुरुष जोडिहरूबीचको आत्मिय सम्बन्धमा हुने हिंसाको दर ८५ प्रतिशत रहेको पाइएको हो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसहरू आफ्नै पार्टनरबाट हिंसामा परिरहेका छन् । मितिनी नेपालले सार्वजनिक गरेको एक अध्ययन अनुसार ४३ दशमलव ९० प्रतिशत उत्तरदाताले शारीरिक, मानसिक र आर्थिक हिंसा भोग्नुपरेको बताएका छन् । २६ दशमलव ८३ प्रतिशतले भावनात्मक र आर्थिक हिंसा भोगेको, २० दशमलव ३३ प्रतिशतले मानिसक पीडा र ८ दशमलव ९४ प्रतिशतले शारीरिक र मानिसक पीडा भोगेका छन् ।

अध्ययनमा विवाहमा असमानता, लैङ्गिक तथा यौनिक पहिचानलाई परिवार र समाजले नस्वीकार्नु, आर्थिक असक्षमता र पितृसत्तात्मक सोचले आत्मिय सम्बन्धमा हुने हिंसाका कारकहरू रहेको पनि उल्लेख गरिएका छन् ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जोडीहरूबीचको आत्मिय सम्बन्धमा हुने हिंसा रोकथामका लागि सरकारको तर्फबाट कुनै ठोस पहल नभएको बताइन् ।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जोडी तथा अन्य समुदायका जोडीबीचको आत्मिय सम्बन्धका कारण हुने हिंसाको दर उस्तै भएपनि न्याय निरुपण समान रुपले नहुँदा समस्या भइरहेको पनि उल्लेख गरिन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्मिय सम्बन्धमा हुने हिंसा भन्नाले आत्मिय सम्बन्धमा हुने त्यस्ता सबै कार्य हुन जसले उक्त सम्बन्धमा भएका व्यक्तिलाई शारीरिक, मनोवैज्ञानिक र यौन हानी पुर्याउँछ ।
यस्ता हिंसाका कारण उनीहरूमा मानिसक समस्या बढ्ने, आत्महत्या जस्ता घटनामा वृद्धि हुने जोखिम पनि बढ्ने निल हिरा समाजका अध्यक्ष पिङ्की गुरुङको भनाइ छ ।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जोडीहरूबीच हुने त्यस्ता हिांका बारेमा धेरै अध्ययन अनुसन्धान वा साहित्य तथा सम्बन्धित हस्तक्षेपहरू कम पाइने हुँदा यस समुदायका मानिसहरूले अधिकारको समान रुपमा उपभोग समेत गर्न नपाएको बताइन् ।

उनले समान रुपमा अधिकार उपभोग गर्न पाउने सुनिश्चितताका लागि सरकारले नीति तथा कार्यक्रममा नै व्यवस्था गनुपर्ने उल्लेख गरिन् ।

नेपालमा यौनिक तथा लैङ्गिक पहिचान हेर्ने हो भने ३९ प्रतिशत समलिङ्गी महिला, २३ प्रतिशत तेस्रो लिङ्गी पुरुष, २१ प्रतिशत ट्रान्सजेन्डर पुरुष, १३ प्रतिशत विपरित लिङ्गी महिला र ४ प्रतिशत द्वयलिङ्गी महिला रहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #मितिनी नेपाल, #लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, #हिंसा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ