नेत्र ज्योति सङ्घद्वारा हुम्ला र कालिकोटमा निःशुल्क शिविर, २ सय ३५ जनाको मोतिविन्दुको शल्यक्रिया


काठमाडौं । नेत्र ज्योति सङ्घद्वारा हुम्ला र कालिकोटमा २ सय ३५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

सङ्घको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा १ हजार ६ सय ८८ जनाको आँखा परीक्षण गरी २ सय ३५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखराको आयोजना एवं प्राविधिक सहयोग, नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग र आई केयर फाउण्डेशनको विशेष सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

चैत्र २५ गतेदेखि २७ गतेसम्म जिल्ला आँखा उपचार केन्द्र, कालिकोटको स्थानीय आयोजनामा चलेको आँखा शिविरमा १ हजार ७८ जनाको आँखा जाँच गरी २ सय जनालाई चस्मा पनि वितरण गरिएको थियो भने १ सय ९२ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

त्यस्तै वैशाख १ गतेदेखि ३ गतेसम्म चङ्खेली गाउँपालिका पिप्लाङ, हुम्लाको स्थानीय आयोजनामा चलेको आँखा शिविरमा ६ सय १० जनाको आँखा जाँच गरी २ सय १० जनालाई चस्मा वितरण गरिएको थियो भने ४३ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद समेत दिएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ