स्वास्थ्य मन्त्रालयद्वारा हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान थाल्न अपिल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । डेंगी संक्रमण रोकथाम नियन्त्रण गर्न उद्देश्यले मन्त्रालयले हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यहीँ १५ गते शुक्रबार देखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गरीदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा अनुरोध गरको छ । उक्त कदमले डेंगी रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका खेल्ने मन्त्रालयको विश्वास छ ।

 यस्तो छ स्वास्थ्य मन्त्रालयको अपिल

 

गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएको थियो । यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै संक्रमण बढ्दै गरेको अवस्था छ । हामीले डेंगी संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन आवश्यक हुन्छ । त्यसैले हामी बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन हामी सबै संवेदनशिल बन्नु पर्ने हुन्छ । डेंगी गराउने लामखुट्टेले हाम्रो घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थीर सङ्गलो पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने हुन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न हामी सबैले आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु गर्नुपर्ने हुन्छ ।

त्यसैले २०८०÷०१÷१५ गते शुक्रबार देखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गरीदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ । हामी सबैको प्रयासले मात्रै डेंगी संक्रमण रोकथाम नियन्त्रण गर्न सकिने भएकोले यस अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले आफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय गरिदिनुहुन हार्दिक अनुरोध छ ।

डा. समिरकुमार अधिकारी

सहप्रवक्ता

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ