स्वास्थ्यमा राजनीतिक नेतृत्व नहुँदा अर्थ र योजनाले पेल्दै


काठमाडौं । स्वास्थ्य मन्त्रालयमा राजनीतिक नेतृत्व (मन्त्री) नहुँदा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले पेल्न सुरु गरेको छ । मन्त्री नभएको मौका छोप्दै राष्ट्रिय योजना आयोगले भारी मात्रामा स्वास्थ्यको बजेट काटेको छ ।
प्रशासनिक तहबाट लबिइङ नपुग्दा स्वास्थ्यको बजेट झन्डै ३५ प्रतिशत कटौती हुने देखिन्छ । हुँदाहुँदा अब त अर्थ मन्त्रालयको आँखा पनि स्वास्थ्यको बजेटमा परेको छ ।
सरकारले अहिले कर्मचारीलाई तलब, भत्ता, पेन्सन, समाजिक सुरक्षा भत्ता खुवाउन नसकिरहेको अवस्थामा छ । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार यस्तो अवस्थामा विभिन्न मन्त्रालयको हुन नसकेको काम र तान्न सकिने विकास बजेटबाट व्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यसैले विभिन्न मन्त्रालयको विकास बजेटमाथि अर्थको आँखा पुगेको छ । अर्थले राजनीतिक नेतृत्व नभएको मौका छोप्दै स्वास्थ्य मन्त्रालयको बजेटमा कैंची लगाउने तयारी थालेको छ ।
स्वास्थ्य पूर्वाधार निर्माण, उपकरण खरिदलगायतका स्वास्थ्यका विभिन्न शीर्षकमा रहेका बजेटमाथि अर्थले आँखा लगाएको छ । स्वास्थ्यमा तत्काल राजनीतिक नेतृत्व नआउने र प्रशासनिक नेतृत्वले दह्रो लबिइङ नगर्ने हो भने अर्थले स्वास्थ्यको बजेटमा कैंची लगाउने निश्चित छ ।
स्वास्थ्यका अधिकारीहरु एनजीओ/आईएनजीओको भोजभतेर मस्त रमाइरहेका हुन्छन् । प्राविधिक कर्मचारी हाबी भएकाले यो मन्त्रालयको बजेटमा कैंची लगाउँदा सजिलो हुने बुझाइमा अर्थका अधिकारीहरु छन् । अब बैशाख महिनाको तलब, भत्ता, पेन्सन, सामाजिक सुरक्षा भत्तालगायतमा हुने खर्च विकास र पूर्वाधार खरिदबाटै निकालेर गर्ने हो । यसका लागि विभिन्न मन्त्रालयको विनियोजित बजेटबाट निकाल्ने प्रयासमा अर्थ मन्त्रालय लागेको छ l यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले बढी मार खाने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ