सडक आन्दोलनमा रहेका पुनकाे मागमा अमेरिकाका चिकित्सककाे समर्थन

काठमाडौं ।विगत तीन दिनदेखि विभिन्न माग राखेर सडक आन्दोलनमा रहेका राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनकाे मागमा अमेरिकामा रहेका चिकित्सकहरुले पनि एक्यवद्धता जनाएका छन् ।
एनआरएनए अमेरिका स्वास्थ्य समितिका अध्यक्ष प्राध्यापक डाक्टर प्रकाश श्रेष्ठले पुनको माग सम्बाेधन गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् । ११ बुदा समेटिएका माग राखेर पुन माइतीघर मण्डला नजिक सडकमा बसेका छन् ।
अमेरिकामा रहेका नेपाली मुलका चिकित्सकहरूले उनका माग राज्य र जनताको हितमा रहेकाे भन्दै सक्नेजती सम्बाेधन गरेर जान सुझाव दिएका छन् । पुनले विगत लामाे समय देखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको बारेमा आवाज उठाउँदै आएका छन् ।
पछिल्लाे समय नेपालमा बनेकाे माेटरसाइकललाई सरकारले दर्ता अनुमति नदिएपछि औपचारीक रुपमा पुन सडकमा उत्रिएका हुन् ।
चिकित्सकहरुले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूको अनुसन्धानमा नेपाल सरकारले ठोस सहायोग गर्न आवश्यक रहेको भन्दै एक्यवद्धता जनाएका हुन् ।
पुनकाे आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछाने लगायतको समर्थन रहेकाे छ ।
यस्ता छन् राष्ट्रिय आविष्कार केन्द्रका मागहरू:
१. “अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष” खडा गर ।
२. अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।
३. प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर ।
४. “अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन” बनाउ ।
५. स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाऊ ।
६. नवउद्यमीहरुलाई हतोत्साह नगर ।
७. उद्यमशीलताको विकास गर्न “नव उद्यमी पहिचान र प्रबर्धन समिति” बनाउ ।
८. व्यवहारिक अनुसन्धानलाई प्रवर्द्धन गर्न “व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग” खोल ।
९. यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।
१०. पुरानो गाडीहरूलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ ।
११. सृजनशील नेपालीहरूले निर्माण गरेको सामानहरुलाई थप विकास गर्न सहयोग गर ।
तपाईको प्रतिक्रिया दिनुहोस