स्वास्थ्य मन्त्रालय नपाएपनि रास्वपा सरकारमा जाने कसरतमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नपाएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने कसरतमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल गृहसहितका ३ मन्त्रालय दिएर रास्वपालाई सरकारमा ल्याउन लागिपरेका छन् ।

रास्वपाले खाली रहेको स्वास्थ्यसहित गृह र अर्को एउटा महत्त्वपूर्ण मन्त्रालयमा दाबी गरेको थियो । यो मेसो पाएका कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालय दिन नसकिने जवाफ दिए । त्यसलगत्तै देउवाले मोहनबदादुर बस्नेतलाई स्वास्थ्यमन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री दाहाललाई दबाव दिए । बस्नेत हिजै स्वास्थ्यमन्त्रीमा नियुक्ति भइसकेका छन् भने आज ३ बजे सपथ लिने तयारीमा छन् ।

स्वास्थ्य मन्त्रालय गुमेपछि साबिक कै गृह, शिक्षा र श्रम मन्त्रालयमा रास्वपाका दाबी रहेको प्रधानमन्त्री दाहाल निकट उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहाल रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने पक्षमा छन् । यसका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरिसकेका छन् । उनीहरु यसमा सकारात्मक रहेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री दाहाल रास्वपालाई गृह, खानेपानी र अरु कुनै एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कसरतमा लागेका छन् । यसका लागि आवश्यक परे एउटा मन्त्रालय फुटाउनेसम्मको तयारी रहेको बुझिएको छ । कांग्रेसको भागबाट झन्डै गुमिसकेको स्वास्थ्य मन्त्रालय भने जोगिएको छ । अब रास्वपा स्वास्थ्य मन्त्रालय नपाएपनि गृहसहितका मन्त्रालय लिएर सरकारमा जाने कसरतमा जुटेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ