नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले पदभार सम्हाले


काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेका छन् । रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्नेलगायतका निर्णय गरेका छन् ।

स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचार सँगै जीवन सुरक्षाको लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने उनको अर्को निर्णय छ ।

स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकोले दातृ निकाय समेतको सहभागिता जुटाई स्वास्थ्य संस्था मार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णयमा बस्नेतले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भईरहेको उपचारात्मक सेवा र उपलब्ध श्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णय छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ