आफ्नो दरबन्दीलाई टुहुरो बनाउने स्वास्थ्यका सहसचिव, पुरानै लयमा फर्काउलान् स्वास्थ्य मन्त्रीले ? 


काठमाडौं । गत २८ बैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपालका स्वास्थ्य पत्रकारहरूसँग साक्षात्कार गरे । करिब दुई घण्टाको साक्षात्कारमा मन्त्री बस्नेतले १ घण्टा आफ्ना कुरा राखे भने, त्यति नै समय पत्रकारले दिएका सुझावलाई कपिमा लिपिवद्ध गरे ।

२२ वर्ष पछि पुन स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएका बस्नेतलाई थोर बहुत जानकारी अवश्य छ । हिजो जे समस्या थियो त्यसकै वरिपरि स्वास्थ्य घुमेको कुरामा दुईमत छैन । कर्मचारी २२ वर्ष अगाडि पनि ३२ हजारको हाराहारीमा थिए अहिले पनि त्यहाँभन्दा बढी छैनन् उनी भन्छन् । अझ संघीय संरचनाले स्वास्थ्यलाई बिछिप्त बनाएको छ । त्यसको आडमा रहेर स्वास्थ्यमा जथाभावी कर्मचारीको व्यवस्थापन भएको देखिन्छ । स्वास्थ्यमा एघारौं तहका कतिपय चिकित्सकहरूले आफ्नो दरबन्दीलाई टुहुरो बनाएका छन् । आफ्नो दरबन्दी रहेको स्थानलाई टुहुरो बनाएर उनीहरू स्वार्थमा लाग्दा समायोजनको चुकुल खुस्किएको छ ।

“जता मल्खु उतै ढल्कु” भन्ने नेपाली उखान जस्तै भएका छन् चिकित्सकहरू । स्वास्थ्य लाइभले एक दर्जन बढी चिकित्सकको विवरण हेर्दा आफ्नो दरबन्दीलाई बलि दिनेहरू धेरै भेटिएका छन् । कोशी अस्पतालमा पदस्थापन भएकी प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजी डाक्टर रेश्मा श्रेष्ठ कान्ति बाल अस्पताल महाराजगन्जमा कामकाजमा खटेकी छन् । यस्तै कोशी अस्पतालमा पदस्थापन भएका प्रमुख मेडिकल ल्याब टेक्निसियन डा श्रवण कुमार मिश्र काम काजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशमा लामखुट्टे मारेर बसिरहेका छन् ।

त्यस्तै प्रमुख शिक्षा स्वास्थ्य प्रशासक डाक्टर राधिका थपलियाको कर्णाली प्रदेशमा समायोजन भएको छ । तर, हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ वा अन्तर्गत रहेर काम गरिरहेकी छन् । नारायणी अस्पताल वीरगञ्जमा पदस्थापनको कार्यालय रहेका सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा शरद पोखरेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा छन् ।

 यसरी दरबन्दी टुहुरो बनाएर फाइदाको पछि लाग्नेहरू खोज्दै जाँदा कति छन् कति । एक ठाउँ दरबन्दी भएका तर, सचिव चिनेको भरमा वा राजनीतिक शक्तिको आडमा आफ्नो हित हुने स्थानमा बसेका कर्मचारीलाई तत्काल दरबन्दी भएकै स्थानमा पठाउँनु पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पनि गत बुधबारको पत्रकार छलफलमा यसमा आफु कठोर भएर निर्णय लिने प्रतिवद्धता जनाएका छन् । उनले यो काम चुनौतीपूर्ण भएपनि कर्मचारीको दरबन्दी अनुसार व्यवस्थापन गर्ने बताए । तर, उनले पत्रकारले यस काममा पूर्ण सहयोग गर्नुपर्ने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ