नीति तथा कार्यक्रममा स्वास्थ्यका १४ एजेण्डा, गाँजाको उत्पादन र व्यापारले पहिलो पटक पायो प्रवेश
काठमाडौं । आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा स्वास्थ्यका १४ विषय समावेश भएका छन् । यस पटक केही नयाँ विषयले पनि स्वास्थ्यको नीति तथा कार्यक्रममा प्रवेश पाएको छन् । स्वास्थ्य लाइभलाइ अर्थ मन्त्रालयबाट प्राप्त जानकारी अनुसार स्वास्थ्यका १४ वटा विषय मध्ये ९ वटा नयाँ रहेका छन् ।
गज्जब चै केछ भने पहिलो पटक गाँजाले नीति तथा कार्यक्रममा प्रवेश पाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले औषधीको गुण भएका गाँजा खेती गर्ने र त्यसको उत्पादन, प्रशोधन र व्यापारलाई कानुनमार्फत व्यवस्थित बनाउने बताएको छ ।
पूर्व सचिव तथा गाँजा अभियान्ता भीम उपाध्याय र स्वास्थ्य लाइभले निरन्तर आवाज उठाउँदै आएको यो विषयले पहिलो पटक नीति तथा कार्यक्रममा प्रवेश पाएको हो । एक अधिकारीले भने, औषधीय गुण भएका यार्सागुम्बा र गाँजाको उत्पादन, प्रशोधन, वितरण, प्रयोग र व्यापारलाई कानुनमार्फत व्यवस्थित गरिने कुरा नीति कार्यक्रममा समावेश गरिएको हो ।
त्यस्तै स्वास्थ्य लाइभले उठाउँदै आएको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन निर्माणले पनि स्थान पाएको छ । प्रतिष्ठान पिच्छेका उपकुलपतिले आफू अनुकुल सेवा सुविधा लिएपछि त्यसको चौतर्फी विरोध भएको थियो । अब भने एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनद्वारा सञ्चालन गरिने छ । साथै संघ अन्तर्गत रहेका सबै अस्पताललाई शिक्षण अस्पतालका रुपमा बिकास गरिने छ ।
यस्ता छन् नीति तथा कार्यक्रम
- सातै प्रदेशका संघीय अस्पतालहरूमा बाँझोपन तथा निःसन्तान उपचार सेवा केन्द्र स्थापना गर्ने ।
- सबै प्रादेशिक तथा संघीय अस्पताल तथा प्रतिष्ठानमा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवा सुचारू गर्ने । उमेर ढल्कदै जाँदा हुन सक्ने डिमेन्सिया र अल्जाईमर्सको समयमै निदान गर्न स्क्रिनिङ गरिने छ ।
- पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी रुपमा बिस्तार गरिने ।
- वर्तमान औषधि व्यवस्था विभागको संगठन संरचनालाई खाद्य औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गरिने ।
- स्वास्थ्य लाइभ मिडियाले विगत देखि उठाउँदै आएको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनद्वारा सञ्चालन गरिने । संघ अन्तर्गत रहेका सबै अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने ।
- नेपाल सरकारका सबै स्वास्थ्य सस्था, सबै सामुदायिक तथा सहकारी अस्पताल र नीजि अस्पतालको हकमा १०० शय्या र सो भन्दा माथिका अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने ।
- स्वास्थ्य बीमामा सबै सरकारी तथा नीजि सङ्गठित संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य बीमा ऐन र नियमावली बमोजिम हरेक वर्ष स्वास्थ्य बीमामा आवद्धता गरिने ।
- मेक इन नेपालको मर्म अनुरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरु स्वदेशमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गरिने ।
- पूर्व सचिव भीम उपाध्याय र स्वास्थ्य लाइभले निरन्तर आवाज उठाउँदै आएको औषधीय गुण भएका यार्सागुम्बा र गाँजाको उत्पादन, प्रशोधन, वितरण, प्रयोग र व्यापारलाई कानुनमार्फत व्यवस्थित गरिने कुरा नीति कार्यक्रममा समावेश गरिएको छ ।
- नवजात शिशु मृत्युदर बढी भएका स्थानीय तहहरूको छनोट गरी नवजात शिशु स्याहार तथा उपचार सेवालाई विशेष कार्यक्रम मार्फत सम्बोधन गरिने भएको छ ।
- सबै संघीय अस्पतालहरूमा एक चिकित्सक / स्वास्थ्यकर्मी । एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिने छ ।
- मौजुदा संगठन संरचनामा परिमार्जन गरिने ।
- क्षयारोग मुक्त नेपाल अभियान स्थानीय तहहरुमा निरन्तरता तथा नयाँ बिस्तार गरिने ।
- पूर्व मनसुन, मनसुन र मनसुन पश्चात गरी तीन पटक हरेक स्थानीय तहमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्ने ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम, #स्वास्थ्य
तपाईको प्रतिक्रिया दिनुहोस