नीति तथा कार्यक्रममा समावेश गरिएका स्वास्थ्यका यी कुरा


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा समावेश गरिएका छन् । १३ वटा स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएका हुन् ।

सुपर स्पेशियालिटी अस्पतालको रूपमा विकास गर्न आवश्यक पूर्वाधार¸ प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लगिने सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आकलन गरी तदनुरूप पठनपाठनको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ । मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने योजना सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गरिने भनिएको छ । आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधि स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । औषधिजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरू स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराइने कार्यक्रममा उल्लेख गरिएको छ ।

ओरोलो लाग्दै गरेको सरकारी स्वाम्त्वि रहेको ऐतिहासिक सिंहदरबार वैद्यखानाबारे सरकारले यो वर्षको नीति तथा कार्यक्रममा सुधार गर्ने लक्ष्य पेश गरेको छ । वैद्यखानासँगै जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधिको उत्पादन र उपलब्धता वृद्धि गरिने र आयुर्वेदिक अस्पतालहरूको सेवा प्रभावकारी बनाइने राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा रहेको जनाएका छन् ।

निजामती अस्पताल र सबै सङ्घीय अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गरिने योजना सरकारले अघि सारको छ । कार्यक्रममा निजामती अस्पताललाई विशिष्टीकृत चिकित्सा सेवासहितको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्दै क्रमशः सातवटै प्रदेशमा विस्तार गर्ने नीति लिइने योजना रहेको बताइएको छ । गेटा विश्वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिने र उक्त अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइने कार्यक्रममा भनिएको छ ।

जनसंख्याको असन्तुलित भौगोलिक वितरण¸बुढ्यौलीउन्मुख जनसांख्यिकी अवस्था¸ प्रतिस्थापन तहभन्दा तलको जनसंख्या वृद्धिदर र बढ्दो आन्तरिक एवं बाह्य आप्रवासनले सामाजिक तथा आर्थिक जीवनमा पार्नसक्ने असरको आकलन र विश्लेषण नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । हाल उपलब्ध जनसांखिक लाभलाई पूर्ण सदुपयोग गर्न तथा भविष्यमा मुलुकभित्र जनशत्ति अभाव हुन नदिन राष्ट्रिय जनसंख्या नीतिमा पुनरावलोकन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानहरूलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । विधेयक संसद्को यसै अधिवेशनमा पेस गरिनेछ । त्यसैगरी एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने कार्यक्रम उल्लेख गरिएको छ । प्रदेश र क्षेत्रीय अस्पतालहरूको स्तरोन्नति गरी शिक्षण अस्पतालका रूपमा विकास गरिने योजना सरकारको छ ।

व्यक्तिको शारीरिक¸ मानसिक र बौद्धिक विकासमा सहयोग पुर्‍याउन योग र ध्यान विषयलाई विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी पठन–पाठन गर्ने व्यवस्था मिलाउने सरकारले योजना बनाएको छ ।

ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान¸ सीप र अनुभवलाई मुलुकको समृद्धिका लागि उपयोग गरिनेछ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य तथा अन्य सेवा सुविधामा छुट र सहुलियत प्रदान गरिने कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश तथा स्थानीय तहको समन्वयमा प्रदेश तथा पालिकाहरूमा सुविधायुक्त ज्येष्ठ नागरिक आवास गृह सेवा तथा मिलन केन्द्र र आरोग्य आश्रमको निर्माण गरिने तथा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन भएका अस्पताललाई थप सुदृढ गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ