१० प्रतिशत शय्या छुट्याएर नि:शुल्क उपचार नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने


काठमाडौं । १० प्रतिशत शय्या छुट्याएर लक्षित वर्गलाई नि:शुल्क उपचार नगर्ने स्वास्थ्य संस्थालाई  काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थालाई उक्त चेतावनी दिएको हो ।

काठमाडौं महानगरपालिकाले लक्षित वर्गले निःशुल्क स्वास्थ्य सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्न समेत महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । त्यस्तो नगर्ने स्वास्थ्य संस्थालाई नियमानुसार कारबाही गर्ने महानगरपालिकाको चेतावनी छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ दफा ११(४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई रहेको जनाउँदै काठमाडौं महानगरपालिकाले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

काठमाडौं महानगरभित्र रहेको अस्पतालहरुले प्रचलित कानुन, मापदण्ड अनुसार लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सेवाग्राही मैत्री सेवा प्रवाह , स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने महानगरको निर्णय छ । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्ने, जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ