झपट साउद बने सुदूरपश्चिमको स्वास्थ्य हेर्ने सामाजिक विकासमन्त्री


काठमाडौं । सुदूरपश्चिमको स्वास्थ्य हेर्ने सामाजिक विकासमन्त्री झपट साउद बनेका छन् ।

सुपका मुख्यमन्त्री कमलबहादुर शाहले साउदलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनले आज प्रदेश मन्त्रिपरिषद् विस्तार गर्दै साउदलाई सामाजिक विकासमन्त्री बनाएका छन् । नवनियुक्त समाजिक विकासमन्त्री साउद नेकपा (माओवादी केन्द्र) तर्फबाट उम्मेदवार भइ अछाम १(२) बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास मन्त्रालय दाबी गरेपनि मुख्यमन्त्री शाहले माओवादीका साउदलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नागरिकको भागमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राखिएको छ ।

मुख्यमन्त्री शाहले माओवादी केन्द्रका रमेशसिंह धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाएका छन् । माओवादीकै  गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मुख्यमन्त्री शाहले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् । उनी बझाङका हुन् ।

मुख्यमन्त्री शाहले कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मावारी दिएका थिए । उनीहरुलाई मुख्यमन्त्री नियुक्त भएसँगै शाहले जिम्मेवारी दिइएका थिए । आज उनले मन्त्री थपेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै सपथ ग्रहण गरेका हुन् । यता नागरिक उन्मुक्ति पार्टीले भने दुईवटा मन्त्रालय मागेर सरकारमा जाने मन्त्रीको नाम सिफारिस गरेको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ