कांग्रेसबाट को बन्ला बागमतीको स्वास्थ्यमन्त्री ?


काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।  नेपाली कांग्रेसले स्वास्थ्यसहित ४ मन्त्रालयमा आज मन्त्री पठाउँदैछ ।

कांग्रेसबाट पुकार महर्जन (काठमाडौं), उत्तम जोशी (चितवन) र मसिना खड्का (सिन्धुपाल्चोक)लाई मन्त्री बनाउने टुंगो लगाइएको छ । अर्को एक मन्त्रीका लागि ललितपुरका रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन, रसुवाका प्रभात तामाङ र काठमाडौंका श्रीराम लामिछानेको चर्चा छ ।

कांग्रेस नेता प्रकाशमान सिंहको सिफारिसमा मन्त्री बन्न लागेका पुकार महर्जनले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ । त्यस्तै डा. शेखर कोइरालाको सिफारिसमा मन्त्री बन्न लागेका उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । त्यसो त संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा मन्त्री बन्न लागेकी मसिना खड्कालाई स्वास्थ्य मन्त्रालय दिन दबाव छ । तर, उनलाई अहिले विनाविभागीय मन्त्री बनाएर पछि पर्यटनबाट उद्योग मन्त्रालय फुटाएर छुट्टै जिम्मेवारी दिने गरी छलफल भइरहेको छ ।

कांग्रेसबाट वन तथा वातावरणमन्त्रीमा गगन निकट श्रीराम लामिछाने, देउवा निकट रामकृष्ण चित्रकार, इन्द्र बनियाँ निकट मिनकृष्ण महर्जन र प्रभात तामाङको चर्चा छ ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बहादुर सिंह लामा (तामाङ) र खानेपानी, ऊर्जा तथा सिंचाईमन्त्री  तीर्थ लामा बनिसकेका छन् । शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ