उत्तम जोशी बने बागमती प्रदेशको स्वास्थ्यमन्त्री


काठमाडौं । बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा उत्तम जोशी नियुक्त भएका छन् । शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा जोशी स्वास्थ्यमन्त्री बनेका हुन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट जोशीलाई बागमती प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो । बागमती प्रदेशसभा चितवन २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य जोशी बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनेका हुन् ।

त्यस्तै कांग्रेसबाट काठमाडौंका पुकार महर्जन उद्योग, पर्यटन तथा सहकारी र सिन्धुपाल्चोककी मसिना खड्का वन तथा वातावरणमन्त्री नियुक्त भएकी छिन् । महर्जन प्रकाशमान सिंह र खड्का स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निकट हुन् । यता देउवा निकट रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री बनेका छन् ।

कांग्रेसबाट यस अगाडि नै बहादुर सिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री बनिसकेका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्री र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरूको सपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री जम्कट्टेलसहित माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्रीमा युवराज दुलाल र समाजिक विकासमन्त्रीमा कुमारी मोक्तानले जिम्मेवारी सम्हालिरहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ