स्वास्थ्यमन्त्री जोशीसहित बागमतीका ६ मन्त्रीले लिए सपथ


काठमाडौं । स्वास्थ्यमन्त्री उत्तम जोशीसहित बागमती प्रदेश सरकारका ६ मन्त्रीले आज सपथ लिएका छन् । उनीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सपथ लिएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका हुन् ।

नवनियुक्त जोशीलाई स्वास्थ्य, मसिना खड्कालाई वन तथा वातावरण, पुकार महर्जनलाई उद्योग, पर्यटन तथा सहकारी, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात र राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यभार तोकिएको छ । त्यस्तै रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री बनाइएको छ ।

नवनियुक्त मन्त्री जोशी, खड्का, महर्जन र चित्रकार  नेपाली कांग्रेसबाट प्रतिनिधित्व  गर्ने प्रदेशसभा सदस्य हुन् । लम्साल र श्रेष्ठ भने नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्छन् ।

जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार १२ सदस्यीय बनेको छ । मुख्यमन्त्री जम्कट्टेलसहित युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन, कुमारी मोक्तानले समाजिक विकास मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् । उनीहरू माओवादी केन्द्रका हुन् ।

त्यस्तै कांग्रेसबाट बहादुर सिंह लामा (तामाङ) आर्थिक मामिला तथा योजना र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारीमा छन् । लामो रस्साकस्सीपछि जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले आज बल्ल पूर्णता पाएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ