एचआइभीको उच्च जोखिममा लागूऔषध प्रयोगकर्ता महिला बढी


काठमाडौं । राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले पछिल्लो समय महिला लागूऔषध प्रयोगकर्तामा एचआइभीको जोखिम उच्च रहेको बताएका छन् । रिकभरिङ नेपाल द्धारा आयोजित कार्यक्रमका सहभागीहरूले बिभिन्न कारणले महिला लागूऔषध प्रयोगकर्ता एचआइभीको संक्रमण जोखिममा पुगेका हुन् ।

लागूऔषध प्रयोगकर्ता, एचआइभीका क्षेत्रमा काम गर्ने थुप्रै सँग संस्थाहरू रहेका छन् । तर, यसको नियन्त्रणमा कुनै भूमिका देखिएको छैन । नेपालमा सेभ द चिल्ड्रेनको सहयोगबाट करिब ९० प्रतिशत एचआइभी संक्रमित पत्ता लगाउने लक्ष्य लिएर जोखिममा रहेका २८ जिल्लामा लागूऔषध प्रयोगकर्ताहरूका लागि काम भइरहेको छ । तर, महिला लागूऔषध प्रयोगकर्तालाई लक्षित गरेर जम्मा २ जिल्लामा मात्रै कार्यक्रम भएको छ ।

महिला लागूऔषध  प्रयोगकर्तामा अहिले पनि एचआइभीको जोखिम उच्च छ, रिकभरिङ नेपालका सिइओ विष्णु शर्माले भने । सन् २००२ मा लागूऔषध प्रयोगकर्ताहरूमा गरिएको अध्ययन अनुसार १०० जना मध्ये ६८ प्रतिशतमा लागूऔषध प्रयोगकर्तामा हेपाटाइटिस र एचआइभी संक्रमण देखिएको थियो ।

रिकभरिङ नेपालले हाल ४ जिल्लामा संक्रमित पत्ता लगाउने काम थालेको छ । उसले ७ सय ५२ जनालाई पत्ता लगाउन सकेको कार्यक्रममा बताएको छ । सिइओ शर्मा भन्छन्, लागूऔषध प्रयोगकर्ता त्यसमा पनि महिला पत्ता लगाउन र सेवा दिन ज्यादै कठिन छ ।

सरकारको नीति अनुसार ९५ प्रतिशत पत्ता लगाउने, ९५ प्रतिशत औषधि खुवाउने र ९५ प्रतिशतमा भाइरस कम पार्ने छ । तर, यसमा कुनै उपलब्धि भएको छैन । शर्मा भन्छन्, अब आउँने नयाँ पुस्तालाई लागूऔषधबाट जोगाउन गम्भिर चुनौती छ ।

यता राष्ट्रिय एड्स तथा यौनरोगले नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय कुमार ठाकुरले मिलेर अगाडि बढ्ने बताए । सरकार आफू एक्लैले एचआइभी र लागूऔषध प्रयोगकर्ताका क्षेत्रमा काम गर्न सम्भावना न्यून भएकाले सबैको साथ सहयोगबाट यसलाई अगाडि बढाउन चाहेको स्पष्ट पारे ।

सेभ द चिल्ड्रेनका प्रतिनिधि दारनजी शेर्पाले राजधानीका ६ स्थानमा सिरिन्ज जन्य फोहोरको राम्रो व्यवस्थापन भएको बताए । लागूऔषध प्रयोगकर्ताहरूले ६ महिनामा कम्तिमा पनि एक पटक एचआइभी जाँच गराउँनु पर्छ । कुनै पनि संक्रमित फेला परेको खण्डमा हामी औषधि खुवाउँन छुटाउँदैनौ शेर्पाले भने ।

शेर्पाले कार्यक्रममा एउटा नयाँ आइडिया समेत सेयर गरेका छन् । बजारमा जथाभावी रुपमा सिमकार्ड पाउने भएकाले पनि अपराधी र एचआइभी संक्रमित पत्ता लगाउँन समस्या भएको उनको बुझाई छ । “एउटा सिमबाट सम्पर्क हुन्छ, शेर्पाले भने,” ५०–१०० रुपैयाँमा जहीँ नयाँ सिम पाउने भएकाले फालेर नयाँ बोक्दा फेला पार्न समस्या भएको छ । सिम कार्ड पाउने व्यवस्थामा केही कडाइ गरेको खण्डमा यस्ता काम न्यूनिकरण हुने देखिन्छ ।”

गृह मन्त्रालयका लागूऔषध शाखा प्रमुख शम्भु रेग्मीले सिमबाट समस्या भएपनि प्रहरीसँगको समन्वयमा कैदी बन्दीको तथ्याङ्कबाट यकिन विवरण आउने बताए । उनले समाजमा छोरा छोरी बिच हेर्ने दृष्टिकोण समान नभएकाले महिला लागूऔषध प्रयोगकर्ता खुल्न नसकेको बताए ।

छोरालाई माफी र सजाय भएपनि छोरी यस्ता घटनाले तिरस्कार हुनु परेको छ । सिरिजबाट लागूऔषध प्रयोग गर्ने भएकाले महिला लागूऔषध प्रयोगकर्तामा एचआइभी भित्र भित्रै फैलिएको छ । गरिबी र सडक बालबालिका यसको प्रमुख कारक बनेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ