कोरोनाकालमा धोबीखोला सिध्याउने वडाध्यक्ष कुश ढकालमाथि बालेनको लगाम


काठमाडौं । कोरोनाको मौका छोप्दै २ अर्ब बढी पर्ने १२ रोपनी सरकारी जग्गा ‘मास्ने-बेच्ने’ कार्यमा संलग्न काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले महानगरलाई झुक्याएर डोजर चलाएको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित साविक धोबीखोलाको जग्गामा मेयर बालेन शाहलाई थाहै नदिई उनले डोजर लगाएको खुलेको हो ।

सरकारी जग्गाबाट बाटो लागेर सरकारी जग्गा खाने वडा सदस्य अनिल श्रेष्ठ र सन्तोष ढुंगेलको अगुवाईमा मेयरलाई थाहै नदिई डोजर लगाइएको हो ।

वडाध्यक्ष ढकालले आफूखुसी पार्क र खेलमैदान भएको ठाउँमा डोजर लगाएपछि बालेनले रोकेका हुन् । मेयर बालेनको सचिवालयको निर्देशनपछि नगर प्रहरी र डोजर फिर्ता गएको छ ।

मेयर बालेनको सचिवालयका अनुसार २९ नम्बर वडाको प्रशासनिक भवन बनाउन भनेर ९  नम्बरमा सहमति भइसकेको थियो । तर, वडाध्यक्ष ढकालले भूमाफियाको स्वार्थमा ८ नम्बर कित्तामा जबरजस्ती डोजर लगाएपछि मेयरले रोकेका हुन् । उनले गुठीमा लगेर हिनामिना गर्न बाँकी रहेको ८ नम्बर कित्तामै वडा भवन बनाउन डोजर लगाएपछि विवाद सतहमा आएको छ । यो विषयलाई बालेनले गम्भीरतापूर्वक लिएको पाइन्छ ।

वडाध्यक्ष ढकालको निर्देशनमा महानगरपालिकाको लगानी बनेको कम्पाउण्ड पर्खाल समेत भत्काइएको छ । सम्बन्धित निकायको अनुमतिबिनै केही रुख विरुवामाथि हानी नोक्सानी पुर्‍याइएको छ । यो केसमा वडाका जनप्रतिनिधिलाई वन मुद्दा लाग्ने देखिन्छ ।

मेयर बालेनको सचिवालयका अनुसार महानगरपालिकाको वडा भवन निर्माण गर्ने विषयमा वडाध्यक्ष ढकालले सहरी योजना आयोगलाई समेत झुक्याएका छन् । ९ नम्बर कित्तामा वडा भवन बनाउने सहमति गरेर ८ नम्बरमा डोजर लगाएपछि वडाध्यक्ष ढकालको बदमासी देखिएको छ । अनामनगरको सरकारी जग्गा खाने भूमाफियाको डिजाइनमा उनले यस्तो बदमासी गरेको चर्चा छ ।

धोबीखोला काण्डपछि वडाध्यक्ष ढकाललाई महानगरपालिकाको न्यायिक समितिको सदस्यबाट हटाउने तयारी समेत भइरहेको हो । उनीमाथि अख्तियारले समेत छानबिन गरिरहेको छ । वडा सदस्य ढुंगेल वडाध्यक्ष ढकालको मतियार बनेर सरकारी सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउन संलग्न भएको स्थानीयको आरोप छ । डोजर लगाएर रुख र सरकारी सम्पत्ति मास्दा फिल्डमा उनको निकै चुरीफुरी देखिन्थ्यो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ