कोरोनाकालामा वडाध्यक्ष ढकालले हिनामिना गरेको जग्गामा वडा भवन बनाउन बालेनको निर्देशन


काठमाडौं । कोरोनाकालमा काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले हिनामिना गरेको सरकारी जग्गामा वडा भवन बनाउन मेयर बालेन शाहले निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेनले वडा कार्यालयलाई प्रस्ट रुपमा अनामनगरको ९ नम्बर कित्तामा वडा भवन बनाउन निर्देशन दिएका हुन् ।

मेयर बालेनको सचिवालयका अनुसार महानगरले वडा नम्बर २९ को कार्यालयलाई ९ नम्बर कित्तामा वडा भवन बनाउन पत्रचार गरिसकेको छ । बिहीबार नै पत्रचार गरिएको सचिवालयले जनाएको हो ।

वडाध्यक्ष ढकालको निर्देशनमा अनामनगरस्थित साबिक धोबीखोलाको ८ नम्बर कित्तामा वडा भवन बनाउन गत जेठ २९ गते डोजर चलाइएको थियो । वडा सदस्य सन्तोष ढुंगेल र अनिल कुमार श्रेष्ठलगायतको उपस्थितिमा उक्त ठाउँमा डोजर लगाइएको हो । मेयर बालेनसँग भएको सहमतिविपरीत ८ नम्बर कित्तामा डोजर लगाएपछि उनको सचिवालयले डोजर र नगर प्रहरी फिर्ता बोलाएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा पर्ने साबिक धोबीखोलाको ८ नम्बर कित्ताबाहेकका जग्गा गुठीमा लगेर नक्कली मोही खडा गरी वडाध्यक्ष ढकालले हिनामिना गरेका छन् । त्यसैले मेयरको आदेश र प्राविधिक परामर्शविपरीत उनले ८ नम्बर कित्तामा वडा भवन बनाउन डोजर चलाएको चर्चा छ ।

मेयर बालेनको कार्यकक्षमा वडाका जनप्रतिनिधि र समाजिक विकास समाजका पदाधिकारीबीच भएको छलफलमा फिल्ड हेरेर ८, ९ र १० नम्बर कित्तामध्ये उपयुक्त कित्तामा २९ नम्बर वडाको प्रशासनिक भवन बनाउने मौखिक सहमति भएको थियो । त्यसपछि मेयरको प्राविधिक टोलीले ९ नम्बर कित्ता सबैभन्दा उपयुक्त भनेर रिपोर्ट दिएकाे मेयर बालेनको सचिवालयको भनाइ छ । तर, मेयर बालेन नपाल नभएको मौका पारेर वडाध्यक्ष ढकालले ८ नम्बर कित्तामै वडा भवन बनाउने भनेर एक्कासी डोजर हाने ।

ब्याड्मिन्टन खेलमैदान र महानगरपालिका कै लगानीमा बनेको हरियाली पार्क मासेर वडाध्यक्ष ढकालले वडा भवन बनाउने खेल खेले । किनकि त्योबाहेकका कित्ता उनले गुठीमा लगेर हिनामिना गरिसकेका छन् । नूनको सोझो गर्न पनि उनले गुठीयार र नक्कली मोहीको स्वार्थमा डोजर चलाएको देखिन्छ ।

९ नम्बर कित्तामा वडा भवन बनाउन नदिन सरकारी जग्गा खाने हरिप्रसाद गिरीलगायतको पनि चलखेल रहेको आरोप छ । वडाध्यक्ष कुश ढकालसँग उनको राम्रै हिमचिम रहेको पाइन्छ । १ रोपनी ६ आना सरकारी जग्गाबाट झन्डै ५ आना जग्गा खानेमा गिरी पर्छन् ।

यता सरकारी सम्पत्तिमा डोजर लगाएर हानीनोक्सानी पुर्‍याएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष ढकालसहितका २९ नम्बरका जनप्रतिनिधि र वडा सचिवमाथि छानबिन थालेको छ । वडाध्यक्षको सनकमा कम्तिमा १० लाखको सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको अख्तियारमा उजुरी परेको छ । यो विषयमा तीव्र रुपमा छानबिन हुने अख्तियारले जनाएको छ । अख्तियारले वडाका जनप्रतिनिधि र सचिवबाट दामासाही रुपमा क्षतिपूर्ति भराउन खोजेको पाइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #अनामनगर धोवीखोला, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #कामनपा वडाध्यक्ष कुश ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ