नियन्त्रण सम्वन्धी बनेका ऐन कार्यान्वन गर्न गण्डकी सरकार दृढ छः मन्त्री सिम्खडा


पोखरा। गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्यवनमा प्रदेश सरकार दृढ रहेको बताएकी छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोष सचिवालयसंगको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्च नेपालले शनिबार पोखरामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन्।

‘कानून बनेको छ, तर कार्यान्वयनमा केही समस्या जस्तो पनि देखिएको छ। तर प्रदेश सरकार यसमा स्पष्ट छ। यसको कार्यान्वयन हुनै पर्छ। कार्यान्वयनको लागि हामी सबै मिलेर लाग्नु पर्छ,’ उनले भनिन्।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले ऐन निमार्णदेखि कार्यान्वयनमा स्वास्थ्य पत्रकारको ठूलो भूमिका रहेको बताउदै सुर्तीजन्य पदार्थ नियन्त्रणमा मञ्चले खेलेको भूमिकाबारे समेत जानकारी दिए।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा.डा भरत खत्रीले हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट ८० लाख मान्छे मर्नु सामान्य कुरा नभएको बताए। यसरी ‘साइलेन्स किलर’ हो भनेर थाहा पाउँदा–पाउँदै पनि धुम्रपान गर्नेले त्यसलाई मनन् नगरेको प्राडा खत्रीले सुनाए।

कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले नेपालमा सुर्तीजन्य पदार्थ सेवनको अवस्था र ऐन कार्यान्वयनमा नेपाल तथा गण्डकी प्रदेशमा भएको प्रयासबारे प्रस्तुती राखेका थिए।

त्यसैगरी कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बार्षिक २७ हजार बढी नेपालीको ज्यान लैजाने सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकार तथा सरोकार हातेमालो गर्दै अघि बढ्नु पर्ने भन्दै बनेका कानूनहरुलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले विश्वमै बढी रहेको नसर्ने रोग मुख्य कारण सुर्तीजन्य पदार्थको सेवन रहेको बताए।

७ प्रदेशमध्ये सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि गण्डकी प्रदेशले मात्रै ऐन बनाएको भन्दै अध्यक्ष चन्दले सह्राना गरे।

सुर्ती उद्योगहरुले समाजमा सेवा गरेको भन्ने नाममा एम्बुलेन्स दिने, स्कुल खोलिदिने, पानी पम्प दिने, अस्पताल खोल्न पैसा दिने जस्ता कामा सुर्ती उद्योगहरुले सहयोग गर्ने गरेकाले त्यस्ता सहयोग लिन नहुने चन्दको भनाइ छ।

नेपालमा सुर्तीजन्य पदार्थ सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिका बारे स्तुति दिदै स्वास्थ्य पत्रकार मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले सरकारले सुर्तीजन्य पदार्थ सम्वन्धी ऐन राम्रो बनाए पनि कार्यान्वयनमा फितलो पना देखिएको बताए। उनले बनेको कानूनको राम्ररी कार्यान्वयन हुन सकेमा मात्रै पनि सुर्तीजन्य पदार्थको प्रयोग उल्लेख्य मात्रामा कमी हुने बताए।

यसैगरी स्वास्थ्य खबरपत्रिकाका सम्पादक प्रवीण ढकालले सुर्तीजन्य पदार्थ नियन्त्रण निमनका लागि ऐन निर्माण तथा कार्यान्वयनमा पत्रकारले खेलेको भूमिकाबारे प्रस्तुती दिदै स्वास्थ्य पत्रकारहरुले ऐन आउनुपर्छ भनेर निरन्तर कलम चलाएको उनले सुनाए। उनले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून ल्याउँदाका सुरुवाती दुख र त्यसमा मिडियाले कसरी सकारात्मक भूमिका खेलेको थियो भनेर समेत जानकारी गराएका थिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ