बालेनले मनपराएको काकाको ‘ड्रिम प्रोजेक्ट’ सुत्केरी पार्क


काठमाडौं । प्रसूति गृहसँगै बागमती नदी किनारमा रहेको जोखिमपूर्ण (सुकुम्बासी) बस्तीमा काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार(काका)को एउटा ‘ड्रिम प्रोजेक्ट’ देखेका छन् । उनले उक्त ठाउँमा ‘ड्रिम प्रोजेक्ट’ सुत्केरी पार्क बनाउने खाका कोरेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पनि वडाध्यक्ष काकाले सुत्केरी पार्क बनाउने खाका सुनाइसकेका छन् । ‘यो सुत्केरी पार्क निर्माणको विषयमा मेयर बालेन पनि ‘कन्भिन्स’ भइसकेका छन्’ उनी भन्छन्, ‘बालेनले उक्त सुत्केरी पार्कको अवधारणा मनपराइसकेको छ । अब बन्छ भन्नेमा आशवादी छु।’,

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसँगै रहेको ४० रोपनी जग्गामा मौलिकतामा आधारित पोखरीसहित सुत्केरी पार्क बनाउने काकाको योजना छ । यसका लागि उनले बालेनसँग ५ करोड मागेका छन् । वडाध्यक्ष काका भन्छन्, ‘कंक्रिटरहित सिमसार क्षेत्रमा जस्तै ऐतिहासिक पोखरी बनाउने लक्ष्य छ । जहाँ बाह्रै महिना पानी अभाव हुन दिइने छैन । अहिले सुत्केरी पार्क बनाउन डीपीआरसहित ५ करोड लाग्ने अनुमान गरेका छौं । बालेनले बजेट दिन्छन् ।’,

‘डिप बोरिङ’ राखेर भएपनि पानीको अभाव हुन नदिने उनको योजना छ । जीवजन्तु, चराचुरुङ्गी र वातावरणलाई स्वच्छ बनाउने खालको मौलिकतामा आधारित पोखरी बनाइने बताउँदै वडाध्यक्ष काकाले यो मुलुककै नमूना पार्क बन्ने दाबी गरे । ‘पोखरीको वरिपरी रुख रोप्ने र बाटो बनाउने हो’ वडाध्यक्ष काकाले स्वास्थ्य लाइभलाई सुनाए, ‘पोखरीको किनारमा दायाँ-बायाँ रुख रोप्ने र बीचमा मर्निङ वाक गर्न मिल्ने बाटो बनाउने योजना छ ।’, पार्कको वातावरण र चिसोपनालाई विशेष ‘फोकस’ गरिने उनको बताए ।

सुत्केरीको बच्चालाई तेल लगाउने, लुगा सुकाउने सबै ठाउँको प्रबन्ध मिलाइने वडाध्यक्ष काकाको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसूति गृहलाई पार्किङका लागि उक्त जग्गा दिन प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेको वडाध्यक्ष काका बताउँछन् । अहिले भने प्रसूति गृहका सुत्केरीले समेत प्रयोग गर्न मिल्ने गरी उनले सुत्केरी पार्क बनाउन लागेका हुन् । उक्त पार्क त बनाउनै पर्ने वडाध्यक्ष काकाको अडान छ ।

वडाध्यक्ष काकाले सुत्केरी पार्क बनाउने भनेको उक्त ठाउँमा अहिले सुकुम्बासी बस्ती छ । तर, उनी त्यसलाई सुकुम्बासी बस्ती भन्ने रुचाउँदैनन् । थापाथलीस्थित बागमतीको नदी किनारमा सुकुम्बासी बस्ती छ भन्दा खेरी वडाध्यक्ष काका तत्कालीन गृहमन्त्री रवि लामिछाने र तत्कालीन गृहसचिव विनोद प्रकाश सिंहसँग रिसाएका थिए । उनी त्यो ठाउँलाई जोखिमपूर्ण क्षेत्र मान्छन् । वडाध्यक्ष काकाको कुरा सुनेपछि गृहमन्त्री र सचिव चुपचाप बसेका थिए । गृहमन्त्री रविले भने ठिक छ भनेको उनले सुनाए ।

नदी किनारको जोखिमपूर्ण क्षेत्रमा राज्यले जुनसुकै बेला डोजर लगाएर व्यवस्थापन गर्न सक्ने वडाध्यक्ष काकाको दाबी छ । संघीय सरकार र काठमाडौं महानगरपालिकाले नदी किनारामा अव्यवस्थित बस्ती हटाउने घोषणा गरेकाले थापाथलीमा सुत्केरी पार्क बनाउने वडाध्यक्ष काकाको परिकल्पना चाँडै साकार हुने सम्भावना छ ।

क्याटेगोरी : समाचार
ट्याग : #११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकार, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, #सुत्केरी पार्क

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ