स्वास्थ्यमन्त्री र उपकुलपतिको ऐतिहासिक निर्णय, पहिलोपटक न्याम्सको कर्मचारी पदाधिकारीमा नियुक्त


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको इतिहासमा पहिलोपटक न्याम्स भित्रका कर्मचारीलाई पदाधिकारीमा नियुक्त गरिएको छ । यस अगाडि सरकारी सेवाबाट प्रवेश गरेका व्यक्ति मात्रै न्याम्सको पदाधिकारी हुने व्यवस्था रहेको थियो । त्यसलाई सच्याउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्रकुमार बस्नेतले न्याम्सबाट पनि कर्मचारी पदाधिकारी हुने व्यवस्थाको सुरुवात गरेका छन् । 

न्याम्स स्थापना भएको २० वर्षमा यस्तो ऐतिहासिक निर्णय भएको हो । यसमा मन्त्री बस्नेतलाई धन्यवाद दिनै पर्छ । बाटो बिराउन लागेका मन्त्री लयमा फर्किएको आभास यसले दिन्छ । सरकारले बिहीबार उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत, रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुङ्गानालाई नियुक्त गरेको थियो । 

डा. कार्की र डा. शाह न्याम्सका कर्मचारी हुन् भने डा. बस्नेत र डा. ढुंगाना सरकारी सेवा तर्फका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र वीर अस्पतालका कर्मचारीबीच नेतृत्व कसले गर्ने भन्नेमै लामो विवाद हुँदै आएको थियो । वीरका कर्मचारीले न्याम्सका कर्मचारी पदाधिकारी हुनु हुँदैन भन्दै आएका थिए भने, न्याम्स अन्तर्गतका कर्मचारीले नेतृत्वमा आफूहरू पनि समान रुपमा पुग्न पाउनु पर्ने माग राख्दै आएका थिए ।

सरकारबाट पेलाइमा पर्दै आएका न्याम्सका कर्मचारीलाई यो निर्णयले ठूलो राहत मिलेको छ । योसँगै आगामी दिनमा न्याम्सका कर्मचारीलाई सर्वोच्च पद उपकुलपति बन्ने आधार तय भएको छ । अधिकारीहरूले बताए अनुसार अब न्याम्स र वीरका कर्मचारीबीचको तिक्तता मेटिएर सुधारको खाको कोरिने छ । यो निर्णयमा नायकको भूमिका निभाउने उपकुलपति डा. भुपेन्द्र बस्नेत डा. लोचन कार्की र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई धन्यवाद दिनै पर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ