चुरोट, गाँजा फेसन हो, भन्ने गलत सोचका कारण युवा पुस्ता लागू औषधमा फस्दै
काठमाडौं । सरकारले सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान गर्न रोक लगाएको वर्षौ भएको छ । तर, शनिवार वीर अस्पताल वरपर नै युवाहरू निर्धक्कसाथ चुरोट तान्दै घुमिरहेका देखिन्थे । महाबौद्ध स्थित वीर अस्पताल अगाडि निर्वाध रूपमा युवाहरूको जमात चुरोटको सर्को तानिरहेका थिए ।
अस्पताल आफैमा सार्वजनिक स्थल हो । तर, अस्पतालको आकस्मिक कक्ष अगाडि दिनहुँ नाङ्ले पसलेले धुम्रपानका बिक्रीबितरण गर्दै आएका छन् । उनिहरुलाई सरकारको घोषणाले कति पनि असर गरेको छैन । सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याइसकेको छ । उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी वरपर चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ । तर, कानुनमा भएपनि व्यवहारमा लागू भएको छैन । यसले गर्दा युवा पुस्ता धूम्रपान तथा मद्यपानको सेवनसँगै बिस्तारै लागू औषधको कुलतमा फस्ने गरेको अधिकारीहरू बताउँछन् ।
ऐनको उपदफा ४ मा ‘कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,’ उल्लेख छ । तर, विडम्बना अस्पतालका गेट, पार्कलगायत सार्वजनिक स्थानमै चुरोटलगायत सुर्तीजन्य पदार्थ बेच्न राखिएका छन् । फुटकर रूपमै चुरोट खरिदबिक्री भइरहँदा सम्बन्धित निकाय मूकदर्शक बनेका छन् । ऐन, नियमावली मात्र होइन्, सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ समेत जारी गरिसकेको छ । तर, ऐन, नियमावली र निर्देशिकासमेत जारी भइसकेको अवस्थामा यसको कार्यान्वयन हुन सकेको छैन ।
नेपालमा वर्षमा करिब २७ हजारभन्दा बढी मानिसहरको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण हुने गरेको छ । जुन कुल मृत्युको १५ प्रतिशत हो । सन् २००३ को डिसेम्बरमा नेपालले विश्व स्वास्थ्य संगठनको सुर्ती नियन्त्रण महासन्धि ९ डब्ल्यूएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल–डब्ल्यूएचओएफसीटीसी ० मा हस्ताक्षर गरिसकेको छ । यो महासन्धिलाई संसद्ले २०६४ कातिक २१ मा अनुमोदन समेत गरिसकेको छ ।
नेपालमा सुर्तीजन्य उत्पादनको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्रात्मक सन्देश राख्नुपर्ने प्रावधान २०७२ जेठ १ देखि लागू गरिएको छ । यसबापत नेपालले ग्लोबल अवार्ड पनि पाएको थियो । सरकारले सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्नका निमित्त २०७३ चैत २ देखि पसलहरूले इजाजत लिनुपर्ने व्यवस्था पनि गरेको छ । तर, अहिले प्रभावकारी छैन ।
तथ्यांक हेर्दा प्रति वर्ष २ अर्ब ७ करोड भन्दा बढी रुपैयाँको आयात भएको छ भने ४९ लाख बढीको निर्यात भएको छ । कानुनको कार्यान्वयन नहुदाँ युवा वर्ग चुरोटको सेवनसँगै लागूऔषध प्रयोगमा जोडिएका छन् । बढी मात्रामा विद्यालय स्तरका बालबालिका भएको देखिएको छ ।
गृहमन्त्रालयले केन्द्रिय तथ्याङ्क विभागको पहलमा ०७७ मा निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या १ लाख ३० हजार ४ सय ३२ रहेको छ । पुरुषको संख्या १ लाख २१ हजार ६ सय ९२ र महिलाको संख्या ८ हजार ७ सय ३२ जना महिला लागू औषध प्रयोगकर्ता रहेको प्रतिवेदन छ ।
प्रतिवेदन अनुसार वार्षिक ५ प्रतिशत औसत वृद्धि दर रहेको देखाएको छ । विशेष गरि १५ वर्ष देखि ३० वर्षको उमेरका युवा युवतीहरू लागू औषधको जोखिम रहेको देखिएको छ । युवा युवतीहरूलाई लच्छित सचेतना, शिक्षाका र रोकथाममा नेपाल सरकारको स्पष्ट नीति भए पनि हाल सम्म कुनै राष्ट्रिय कार्यक्रम भएको छैन । देश भरि रहेको ३ सय भन्दा बढी उपचार सेवा केन्द्रहरू गैरसरकारी संस्थाहरूले सञ्चालन गरेका छन् ।
लागू औषधको प्रयोगको कारणले विभिन्न स्वस्थ समस्याहरूमा एचआईभी हेपाटाइटिस, मानसिक समस्या, छाला तथा नसा मनोरोग वढी मात्रामा यसै वर्गमा देखा परेको विभिन्न तथ्यहरूले देखाएकोछ । लागू औषधको दुवर्यशनका कारणले भविष्यका कर्णधार मानिने युवा युवतीहरूको शिक्षा, स्वास्थ्य, उनीहरूको वृद्धी विकास, शिप विकासमा प्रत्यक्ष असर भई परिवार, समाज, देशकै विकासमा ठुलो आर्थिक तथा सामाजिक क्षति भई नकरात्मक असर पर्न गइरहेको रिकभरिङ नेपालका सिइओ विष्णु शर्माले बताए ।
शर्माका अनुसार लागू औषधको कुलतमा पर्ने कारणहरू मध्ये रमाइलोका लागि, उत्सुकताका कारण, साथीभाइका लै लै मा लागेर, साथी भाइले उत्प्रेरित गर्ने, अग्रजको देखा शिखि गरि कुलतमा फस्न जाने, पारिवारिक कलहको कारणले, विभिन्न मनो सामाजिक समस्याको कारण, विभिन्न सोसियल मिडिया, चलचित्रको प्रभाव साथै हिरो हिरोईनको प्रभाव, चुरोट, गाँजा, रक्सी र अन्य लागू औषध प्रयोग फेसन हो भन्ने गलत अवधारणामा विश्वास गरेको कारण युवा युवतीहरूमा यस कुलतको समस्या दिनानुदिन वढदै गई रहेको शर्माले बताए ।
लागू औषधको प्रयोग विगत लामो समय देखि विषेश गरि काठमान्डौं उपत्यकाका, सुनसरी, मोरङ, कास्की, चितवन, रूपन्देही, वाके, कैलाली र महेन्द्रनगरमा ठुलो समस्याको रुपमा देखा पर्दै हाल सबै जिल्लाका सदरमुकाम, सहर र विशेष गरि छिमेकी राष्ट्र भारत सँग जोडिएको जिल्लाहरूमा यो समस्याले विकराल रूप लिदै गई रहेको छ । जसका कारण युवा युवतीहरूले आसक्त जीवन बिताउन वाध्य हुने साथै उनिहरुको अकाल मृत्यु सम्म हुने गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस