भुइँमान्छे पक्षधर ‘जब्बर’ मन्त्रीले मन्त्रालय प्रवेशमा भुइँमान्छे रोके, गौप्राणी कर्मचारीमाथि कारबाही ठोके


काठमाडौं । नाटकीय रुपमा सोमबार एक सरकारी पत्रिकामा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको फोटोसहितको लेख प्रकाशित भयो । 

‘भुइँमान्छेका पक्षमा जब्बर मन्त्री’ शीर्षकमा लेखिएको उक्त लेख जवरजस्त प्रचारमा जोडिएको थियो । जब बिहान मन्त्रीको जवरजस्त प्रचारमा लेखाइएको लेख प्रकाशित भयो त्यही दिन घटना फरक भयो । मान्छेको व्यवहार लेखाइ हैन, गराइमा छर्लङ्गै हुन्छ । 

सोमबार दिउँसो भुइँमान्छे प्रवेश गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले गेटमै प्रवेश निषेध गरिएको थियो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरिब र विपन्न नागरिकको सेवामा सहजता होस् भनेर सिंहदरबारभित्र नलगेको हो । यहाँ देशभरका अत्यन्तै गरिब तथा विपन्न नागरिक सेवाका लागि प्रवेश गर्छन् । तर, बिहान आफूलाई भुइँमान्छेका पक्षमा जब्बर मन्त्री भनेर समाचार लेखाए दिउँसो भुइँमान्छेहरूलाई मन्त्रालय प्रवेशमा रोक लगाए ।

बैंकको कर्मचारी राखेर स्वास्थ्यको खाका कोर्न थालेपछि विवादमा परेका मन्त्रीले त्यसलाई संरक्षण गर्न गेटमा कडाइ गरेको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । त्यति मात्र हैन, बस्नेतले एक जना उच्च तहका इमानदार कर्मचारीमाथि सामाजिक सञ्जालमा लेखेका आधारमा जागिरनै खाने तरिकाले स्पष्टीकरण सोध्न लगाएका छन् ।

नरदेवी आयुर्वेद चिकित्सालयमा कामकाजमा रहेका डा. बुद्धिप्रसाद पौडेलमाथि स्टाटस लेखेको आधारमा मन्त्रीले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन् । मन्त्रीको निर्देशन पालना गर्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवकुमारी गुरागाँईले पत्र पठाउँन लगाएकी हुन् । ‘मन्त्रीले अहिले आफ्नो मनलाग्दी गर्न पहिलो चरणमा कर्मचारीलाई निकै हप्काइदप्काइ गरिरहेका छन् । यसको एउटा पछिल्लो उदाहरण यो घटना पनि हो ।’, अधिकारीहरूले भनेका छन् । 

दुई-दुई जना सचिव भएको मन्त्रालयमा एउटा इमानदार कर्मचारीप्रति मन्त्री सामन्ती रुपमा प्रस्तुत हुँदा समेत उनकै पक्षमा लम्पसार परेका छन् । स्वास्थ्यकर्मी संगठनको त कुरै नगरौँ । यदि संगठन इमानदार भए मन्त्रीलाई स्वास्थ्यबाट हटाउन आन्दोलन सुरु गर्नुपर्ने हो । 

०७७ बैशाखमा कोरोनाको समय थियो । उक्त बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यस्तै हर्कत गरेका थिए । मिडियामा जनचेतना (अवेयरनेस) फैलाएकै कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा करार सेवामा कार्यरत डा. शेरबहादुर पुनलाई  कारबाहीको प्रक्रिया अगाडि बढाइएको थियो । सञ्चार माध्यममा व्यापक विरोध भएपछि मन्त्री पद जाने अवस्थामा पुनलाई हैन भन्न लगाएर स्वास्थ्य मन्त्रीको पद ढकालले जोगाएका थिए । अहिले कांग्रेस कोटाबाट मन्त्री भएर आएका बस्नेतको हर्कत यस्तै भएको छ । तत्काल उनी सच्चिएनन् भने उनका लागि स्वास्थ्य एकादेशको कथा हुने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ