सरकारी जग्गामा दीर्घायु गुरू अस्पतालको अझैसम्म रजाइँ


काठमाडौं । चाबहिलस्थित सरकारी जग्गा हडपेर सञ्चालन भइरहेको दिर्घायु गुरू अस्पतालले अझैसम्म रजाइँ गररिहेको छ । झन्डै डेढ रोपनी सरकारी जग्गा हडपेर उक्त अस्पतालले अहिलेसम्म रजगज चलाइरहेको हो ।

दीर्घायु गुरू अस्पतालले सरकारी जग्गामै भवन खडा गरेर निर्लज्ज तरिकाले बिरामीमाथि ठगी धन्दा समेत चलाइरहेको छ । तर, राज्यका जिम्मेवार निकाय वेखबर छन् । उनीहरु कानमा तेल हालेर बसिरहेको पाइन्छ । उक्त जग्गाको मूल्य झन्डै २० करोड पर्छ।

स्वास्थ्य लाइभले २ वर्ष अगाडि नै सरकारी जग्गा कब्जागरी दीर्घायु गुरू अस्पताल सञ्चालनमा रहेको खुलासा गरेको थियो । काठमाडौं महानगरपालिकाका तात्कालीन मेयर विद्या सुन्दर शाक्यको पालामा स्वास्थ्य लाइभले उक्त कुरा खुलासा गरेपनि बालेन्द्र शाह (बालेन)को राजमा पनि उक्त अस्पतालको रजाइँ जारी छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अनधिकृत संरचनामा डोजर चलाउन खोजेका बालेनले दीर्घायु गुरू अस्पतालको अवैध धन्दा भने देखेका छैनन् ।


दीर्घायु गुरू अस्पताललाई संरक्षण गर्ने तत्कालीन वडाध्यक्ष शुद्ध डंगोल चुनावमा पराजित भएर विमलकुमार होडा आएपनि उक्त अस्पतालको अवैध धन्दा सदाबहार छ । होडाले पनि डंगोललाई माथ खुवाउने गरी दीर्घायु गुरू अस्पताललाई संरक्षण गर्न थालेका हुन् ।
दीर्घायु गुरू अस्पतालका सञ्चालक सुरज बलाया श्रेष्ठले एमालेबाट निर्वाचित डंगोललाई जस्तै कांग्रेसबाट निर्वाचित होडालाई प्रभावित पारेर सरकारी जग्गामा बिरामीमाथि ठगी धन्दा चलाइरहेका छन् ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा दीर्घायु गुरु अस्पतालका सञ्चालक श्रेष्ठले भवन बनाइसकेपछि सरकारी जग्गा भएको थाहा पाएको स्वीकारेका थिए । भवन बनाइसकेपछि सरकारी जग्गा रहेका थाहा पाइएको उनको भनाइ छ ।

सुरज बलाया श्रेष्ठ

तत्कालीन वडाध्यक्ष डंगोललाई सरकारी जग्गा कब्जा गरी उक्त अस्पतालले बनाएको अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ताकेता गरेको थियो । स्वास्थ्य लाइभको खुलासपछि जिल्ला प्रशासन कार्यालय तातिएपनि वडाध्यक्ष मौन बसे । अहिले झन उक्त विषय सेलाएको देखिन्छ । सरकारी जग्गा कब्जा गर्ने दीर्घायु गुरु अस्पताललाई विद्या सुन्दर मेयर बन्नु र बालेन आउनुमा केही फरक परेको देखिँदैन ।
स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ७ सिट नम्बर १०६७–१२ को कित्ता नम्बर ३४ मा उल्लेखित एक रोपनी ५ आना ३ पैसा, २ दाम सरकारी जग्गा दीघार्यु गुरु अस्पतालले हडपेको देखिन्छ । झन्डै आधा अर्ब रुपैयाँ पर्ने उक्त सरकारी जग्गामा विगत १० वर्षदेखि दीघार्यु गुरु अस्पतालले सित्तैमा रजाइँ गरिरहेको छ । मेडिकल माफियाको दादागिरीमा काठमाडौं महानगरपालिकाले आँखा चिम्लिदा सरकारी जग्गामा दीघार्यु गुरु अस्पतालको अवैध धन्दा फस्टाएको हो ।


सरकारी जग्गा हडपेर निजी अस्पताल चलाएको विषयमा पटकपटक आवाज उठाउँदा समेत काठमाडौं महानगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ । ‘विद्या सन्दरको पालामा त मेडिकल माफियाको अवैध धन्दामा संरक्षण भयो-भयो बालेनको पालामा पनि दीर्घायु गुरू अस्पतालले सरकारी जग्गा कब्जा गरिरहने हो भने उनी मेयर भएर आउनुको के अर्थ रह्यो र ?’, स्वास्थ्य लाइभसँगको कुराकानीमा मित्रपार्कका एक स्थानीयले भने । सरकारी जग्गा हडपेर सञ्चालित दीघार्यु गुरु अस्पतालको अतिक्रमण तत्काल नहाटाउने हो भने बालेनप्रति पनि स्थानीयको विश्वास गुम्ने देखिन्छ । यो विषयबालेनका लागि पनि परीक्षा हो ।दीर्घायु गुरू अस्पतालको अवैध धन्दा रोक्ने की आफैं रोकिने यो बालेनका लागि ठूलो चुनौती बनेर गएको छ ।

दीर्घायु गुरू अस्पतालले सरकारी जग्गा कब्जा गरेर अवैध धन्दा चलाइरहेको विषयमा स्वास्थ्य लाइभले निरन्तर निगरानी र खबरदारी गरिरहने छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #दीर्घायु गुरु अस्पताल, #प्रबन्ध निर्देशक सुरज बलाया श्रेष्ठ, #विमलकुमार होडा, #सरकारी जग्गा कब्जा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ